वन डढेलो रोकथामका लागि विशेष अभियान 

फाल्गुन ५, २०८१

माधव अर्याल

Special campaign for forest fire prevention

पाल्पा — अघिल्लो वर्ष ४ सय बढी स्थानमा डढेलो तथा आगलागीको घटना भएको पाल्पामा यसवर्ष रोकथामका लागि विशेष तयारी थालिएको छ । लामो समयदेखि पानी नपरेर सुक्खा मौसम बढेसँगै हावाहुरी चल्न सुरु भएकाले डढेलो रोकथामका कार्यहरू भइरहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए ।

१० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वन डढेलोको उच्च जोखिममा रहेको उनले बताए । ‘यसवर्ष सुख्खा मौसम अझ लामो हुने देखिएकाले पनि सचेतनाका अभियान सुरु गर्नुपर्ने अवस्था आएको हो,’ उनले भने, ‘त्यसैले पनि विशेष अभियान सञ्चालन गरेर नियन्त्रण र रोकथामको काम गर्नुपर्ने हुन्छ ।’ 

जिल्लाका ९६ प्रतिशत वनमा डढेलो मानवीय कारणले लाग्ने गरेको छ । ६४ प्रतिशत जानेर र ३२ प्रतिशत हेलचेक्र्याँइका कारण लाग्ने गरेको हो । २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेको कार्यालय प्रमुख भट्टराईले बताए ।

डढेलोबाट हुने वातावरणीय तथा जनधनको क्षति न्यूनीकरण गर्नका लागि अभियान सञ्चालन गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ । अभियान अन्तर्गत प्रहरीले बस्तीनजिक रहेका जलनशील पदार्थ पातपतिङ्गर हटाउने, अग्निरेखा कोर्ने, घरनजिक राखिएका स्याउला हटाउने, जनचेतनामूलक सामग्री वितरण गर्ने र सुकेका पातपतिङ्गरको व्यवस्थान गर्ने काम गरिरहेको छ ।  

जिल्लाका सामुदायिक वन उपभोक्ता समिति, कर्मचारी तथा सरोकारवाला निकाय र समुदायसाग अन्तर्क्रिया गर्दै सुरक्षाकर्मी र वन कर्मचारीसहितको टोली परिचालन गरिने उनले बताए । नागरिकलाई सचेत हुन कार्यालयले सञ्चार माध्यमबाट सूचना प्रवाह गर्नुका साथै अन्तर्क्रिया, छलफल तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए । जिल्लास्तर, इलाका वनस्तरमा पनि जनप्रतिनिधि र सरोकारवालालाई राखेर कार्यक्रम संचालन गरिनेछ । 

डिभिजन वन कार्यालयका अनुसार जिल्लाको अधिकांश ठाउँमा सामुदायिक वन तथा निजी आवादी वन डढेलोको उच्च जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताए । डढेलोको उच्च जोखिममा पाल्पा पनि रहेकाले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको उनले बताए । 

डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने गरेको तथ्यांक देखिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ता समिति, सुरक्षाकर्मीसंग सहकार्य गरी अभियान सञ्चालन गर्नुपर्ने उनले बताए । बेलैमा सचेतना अभियान चलाउनाले डढेलो लाग्न सक्ने उच्च जोखिममा रहेका सम्भावित वनको पनि थप पहिचान गर्न सहयोग पुग्ने प्रजिअ सुवेदीले बताए । 

अभियान अन्तर्गत विभिन्न तीन वटा संयन्त्रले काम गर्नेछ । आगलागीका घटना रोकथाम र न्यूनीकरणका लागि जिल्ला विपत् समितिको नेतृत्वमा सुरक्षा निकाय परिचालन र निर्देशन, समिति बनाएर काम अघि बढेको छ । डिभिजन वन कार्यालयले पनि विद्यार्थी, नागरिक समाज, शिक्षक, सामुदायिक वनका उपभोक्ताल र बुद्धीजीवीलाई वनजंगलको डढेलेको बारेमा सचेतना अभियान सुरु गरेको छ । 

गर्मीसगै वनजंगल क्षेत्रमा डढेलो लाग्न सुरु भएको छ । प्रचार प्रसार, जनचेतना मुलक कार्यक्रम गरिएपनि चुरे, महाभारत, शिवालिक क्षेत्रमा डढेलो लाग्न सुरु भइसकेकाले सचेतनाका अभियानलाई गाउँस्तरसम्म पुर्याइएको छ । गतवर्ष जिल्लाका विभिन्न स्थानमा डढेलो लाग्दा मानवीय क्षति समेत भएको थियो ।

चेतना जगाउँदै गर्दा पनि चुरे, महाभारत शिवालिक साथै राष्टिय बनमा डढेलोले सताउने गरेको छ । जिल्लाको मित्याल, ज्यामिरे, वहादुरपुर, रहवास, गोठादी, दोभान, कोलडाडा, मस्याम, कचल, सत्यवती लगायतका स्थानमा बढी डढेलो लाग्नेगर्छ ।

यसको लागि गाउँ गाउँमा सचेतना मुलक कार्यक्रम गरिने डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङ्ले बताए । चुरोटका ठुटा जथाभावी फाल्दा, वनभोज गएकाले आगो ननिभाई छाडिदिँदा डढेलो लाग्ने गरेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully