किशोरीलाई हिंसाबाट जोगाउन लुम्बिनीमा ‘सुरक्षित किशोरी’ परियोजना

फाल्गुन ५, २०८१

घनश्याम गौतम

'Sakshit Kishori' project in Lumbini to protect girls from violence

बुटवल — लुम्बिनी प्रदेशमा किशोरीलाई लैंगिक हिंसाबाट जोगाउन ‘सुरक्षित किशोरी’ परियोजना सुरु गरिएको छ । परियोजनाले २० वर्षभन्दा कम उमेरका किशोरीलाई सशक्त बनाउँदै हानिकारक अभ्यास तथा लैंगिक हिंसाबाट जोगाउने सरकारको विश्वास छ ।

कोरिया अन्तर्राष्ट्रिय सहकारी एजेन्सी (कोइका) र संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) को सहयोग तथा लुम्बिनीका मन्त्रालयहरूको सहकार्यमा उक्त परियोजना सुरू भएको हो । कोइकाले परियोजनाका लागि ६६ लाख अमेरिकी डलरको सहयोग प्रदान गर्नेछ । उक्त रकममध्ये लुम्बिनी प्रदेशमा मात्र २२ लाख अमेरिकी डलर विनियोजन गरिएको छ ।

यस परियोजनामार्फत किशोरीहरूलाई सामाजिक सञ्जाल निर्माण गर्न सहयोग पुर्‍याउनुका साथै डिजिटल प्रविधिको प्रयोग गरी सुरक्षित स्थानहरू उपलब्ध गराइनेछ । साथै, यौन शिक्षा, लैंगिक हिंसा रोकथाम तथा स्थानीय तहका सेवाहरूलाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने लुम्बिनीको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

नेपालका लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका २० स्थानीय तहमा परियोजना लागू हुनेछ । विशेषगरी पछाडी परेका समुदायका किशोरीहरूलाई लक्षित गरी सुरक्षित वातावरण सिर्जना गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । लुम्बिनी प्रदेशका ७ वटा स्थानीय तहमा परियोजना लागू भएको छ ।

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले किशोरीहरूको सशक्तिकरणमा राज्यको महत्वपूर्ण भूमिका रहेको र परियोजनाले किशोरीहरुलाई सुरक्षित र सशक्तिकरणमा सहयोग पुग्ने बताए । ‘कार्यक्रमले बाल विवाह अन्त्य, यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रवर्द्धन तथा किशोरीहरूलाई सुरक्षित वातावरणका लागि सहयोग पुग्नेछ,’ उनले भने, ‘पहिलो चरणमा लुम्बिनी प्रदेशका ७ स्थानीय तहबाट सुरु गरेका छौं ।’ परियोजनाको शुभारम्भ गर्दै उनले समाजमा सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए । 

युएनएफपीएका नेपाल प्रतिनिधि वोन यङ हङले किशोरीहरूलाई सुरक्षित वातावरण प्रदान गर्नु अपरिहार्य भएको बताइन् । नेपालका लागि प्लान इन्टरनेसनलका निर्देशक राम किशनले किशोरीहरूलाई सशक्त बनाउन सुरक्षित स्थानहरू तथा लैङ्गिक हिंसाविरुद्धको सुदृढ समर्थन प्रणाली आवश्यक रहेको बताए । सामाजिक विकास मन्त्रालयका सचिव अणप्रसाद न्यौपानेले शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था सुधारलाई बढाउादै लैजानुपर्ने र कुरिती, कुसंस्कार, विभेदजस्ता समस्यालाई घटाउँदै लैजानुपर्ने बताए ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully