पन्चेबाजा, सालैजो, मारुनी, ठूलो नाच, झाम्रे लगायत सांस्कृतिक गतिविधि पनि देख्न पाइने
पाल्पा — मगर समुदायको संस्कृति प्रदर्शनी र रैथाने परिकारको स्वाद चखाउन पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङ्कोट रानीवास गाउँमा सामुदायिक घरबास (होमस्टे) कार्यक्रम सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले नजिकका पर्यटकीय स्थलको अवलोकन गराउने गरी सामुदायिक घरवास सुरु गरिएको बताए ।
पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले सामुदायिक होमस्टेको शुभारम्भ गरे । रानीवास गाउँमा ९० घर मगर समुदायको बसोवास छ । घरबास कार्यक्रममा १८ घरपरिवार सहभागी छन् । १४ घरमा खानेबस्ने गरी व्यवस्थापन मिलाइएको छ । होमस्टेमा एक हजार रुपैयाँमा खानबस्न सकिन्छ ।
रानीवास सामुदायिक घरबास कार्यक्रम फोक्सिङ्कोटकी अध्यक्ष देउकुमारी सारुले मगर संस्कृतिले धनी गाउँमा पुराना कला, संस्कृति र मगर समुदायको भेषभुषा, रहनसहनलाई व्यवस्थित गरेर प्रदर्शन गर्ने बताइन् । स्थानीय खानाका परिवार खुवाएर पर्यटकलाई आकर्षण बढाउने योजना रहेको उनको भनाइ छ । उनले होमस्टेमा कोदोको ढिँडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटी लगायतका परिकारको स्वाद लिन पाइने बताइन् । होमस्टेमा बस्ने पाहुनाले पन्चेबाजा, सालैजो, मारूनी, ठूलो नाच, झाम्रे लगायत सांस्कृतिक गतिविधि पनि देख्न पाउनेछन् ।
रानीवास गाउँ सिद्धार्थ राजमार्गको पिपलडाँडादेखि १३ किलोमिटर र कालीगण्डकी करिडोरको सहदीखोलादेखि ९ किलोमिटरको दुरीमा छ । स्थानीय गंगाबहादुर गाहा मगरका अनुसार पहाडको टाकुरामा रहेको रानीवासबाट हिमाल र स्याङ्जातर्फका पहाडी भूभाग लहरै देख्न सकिन्छ ।
गाउँपालिकाको लगानीमा सामुदायिक घरबास र प्रदेश सरकारको एक करोड रुपैयाँ लगानीमा जनजाति संग्रहालय भवन निर्माण गरिएको हो । संग्रहालयमा मगर समुदायका संस्कृति झल्किने परम्परागत वस्तु राख्न थालिएको छ ।
