रुपन्देहीका पालिकामा फोहोर प्रशोधन केन्द्र

फाल्गुन ४, २०८१

सन्जु पौडेल

Garbage treatment center in the municipality of Rupandehi

लुम्बिनी — वर्षौदेखि बुद्ध जन्मस्थल परिसरभित्र फोहोर बिर्सजन गरेको भन्दै आलोचना खेपिरहेको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण गरेको छ । लुम्बिनी सांस्कृतिक–५ स्थित मनोहरपुर र ढोडाहवा गाउँको बीचमा रहेको सार्वजनिक जग्गामा प्रशोधन केन्द्र निर्माण गरिएको हो ।

उक्त केन्द्रको नाम सरसफाई अध्ययन तथा हरित उद्यान नामाकरण गरिएको छ । सुरुवाती चरणमा ५ बिघा क्षेत्रफल रहेको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि संयुक्त राष्ट्रसंघ (युएनडीपी)सित सहकार्य गरिएको नगरपालिकाले जनाएको छ ।

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीयले फोहोर व्यवस्थापनका लागि भोग्नु परेको समस्या हल हुने नगर उपप्रमुख कल्पना हरिजनले बताइन् । पालिकामा फोहोर व्यवस्थापनस्थल नहुँदा स्थानीय होटल र बजार क्षेत्रबाट उत्सर्जित फोहोर यत्रतत्र छरिने गरेको उनले बताइन् । कतिपयले लुम्बिनी विकास कोष क्षेत्रभित्र पनि फोहोर बिर्सजन गर्दै आएकोमा अहिले रोकिएको उनले दाबी गरिन् ।

‘नकुहिने भन्दा कुहिने प्रकृतिको फोहोर उठाएर कहाँ फ्याक्ने भन्ने समस्या थियो,’ उनले भनिन्, ‘नगरपालिकाका ६ र १० नम्बर वडा धेरै फोहोर संकलन बढी हुने स्थान हुन्, प्रशोधन केन्द्र सञ्चालनमा आएपछि समस्या समाधान हुनेछ ।’ फोहोर ढुवानीका लागि ६० लाखभन्दा बढी खर्च गरेर प्रशोधन केन्द्रसम्म किलोमिटर ग्राभेल सडक निर्माण गरिएको उनले बताइन् ।

अहिले केन्द्र सञ्चालनका लागि १० जना नयाँ सरसफाईकर्मी नियुक्त गरेको उनले बताइन् । यसअघि पालिकामा १० जना फोहोर संकलनकर्ता थिए । पहिलो चरणमा युएनडीपीले प्रशोधन केन्द्रमा टहरा निर्माणकासाथै दुई वटा प्लान्ट जडान गर्न सहयोग गरेको हो । साथै फोहोर संकलनका लागि २ वटा अटो रिक्सा र ९० भन्दा बढी कम्पोष्ट मल बनाउने डस्टबिन संस्थाले सहयोग गरेको युएनडीपीकी संचार प्रमुख मोनिका उपाध्यायले बताइन् ।

सन् २०२३ देखि सुरु भएको परियोजनामा ३ करोड २२ लाख ८६ हजार ६ सय ८२ रुपैयाँ बजेट आवश्यक पर्ने उनले बताइन् । कुल रकम मध्ये २ करोड १७ लाख लुम्बिनी सांस्कृतिक नगरपालिकाले व्योहोर्ने र बाँकी युएनडीपीले जापान सरकारको सहकार्यमा व्यवस्थापन गरेको जनाइन् । ‘हामीले उपकरण खरिद गरेर राखेका छौं, विद्युत लाइन विस्तार भएसँगै जडान गरेर काम सुरु भइहाल्छ,’ उनले भनिन् ।

जिल्लाको सैनामैना नगरपालिकामा फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने योजनाले मूर्तरुप पाउने भएको छ । सैनामैनासँगै बुटवल उपमहानगरपालिका र कन्चन गाउँपालिकाको फोहोर समेत व्यवस्थापन गर्न मिल्नेगरी सैनामैना एकीकृत फोहोर व्यवस्थापन केन्द्रमास्थायी रुपमा फोहोर व्यवस्थापनका लागि निकास निस्किने छ । संघीय मन्त्रिपरिषद्को गत मंगलबारको बैठकले फोहोर व्यवस्थापन केन्द्रका लागि सैनामैना–१० एकला पहाड क्षेत्रमा खोरमोर नदी उकास क्षेत्रको ३.५ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सरकारको निर्णयपछि वनको जग्गाको भोगाधिकार नपाएर वर्षौंदेखि अलपत्र रहेको फोहोर व्यवस्थापनको काम सुरु गर्न सहज वातावरण बनेको पालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर सुरज न्यौपानेले जनाए । प्रशोधन केन्द्र निर्माणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले ६ वर्षअघि सम्झौता गरी काम अघि बढाएका थिए ।

‘तत्कालीन प्रमुखहरुले यस कामका लागि साझेदारी गर्ने निर्णय गर्नुभएको थियो,’ उनले भने, ‘वनको जमिन भएकाले भोगाधिकार नपाएसम्म काम अघि बढ्न सकेन ।’ अब वन विभागसँग सहजै सम्झौता गर्न सकिए यो वर्षभित्र रुख कटानको काम सक्ने योजना रहेको बताए ।

फोहोर प्रशोधन गरी बायोग्यास, प्लास्टिक दाना उत्पादन गर्ने र कम्पोस्ट मल बनाउने गरी योजना अघि बढाइएको थियो । फोहोर प्रशोधन केन्द्र निर्माणका लागि एशियाली विकास बैकले लगानी सहयोगका लागि चासो देखाएको भन्दै उनले केन्द्र निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइसकेको जनाए ।

उनका अनुसार वनलाई असर नपर्ने गरी हाइवेदेखि झण्डै साढे ५ किलोमिटरभित्र पर्ने उक्त क्षेत्रमा संघीय सरकारको विशेष अनुदान प्राप्त भएको थियो । जसअन्तर्गत सडकको स्तरोन्नति र साढे ४ मिटरको तटबन्ध निर्माण भइसकेको छ । प्रशोधन केन्द्र निर्माणका लागि झण्डै ६३ करोड लागत अनुमान गरिएकोमा यसपटक उक्त रकममा फेरबदल हुने उनले बताए ।

फोहोर संकलन तथा व्यवस्थापनमा पहिलेदेखि नै अग्रणी रहेको तिलोत्तमा नगरपालिकाले दुई वटा निजी संस्थासँग साझेदारी गरी फोहोर संकलन तथा व्यवस्थापनको काम गरिरहेको वातावरण शाखा प्रमुख गोरखनाथ खनालले बताए । नगरमा अहिले हरेक वडामा ज्यालादारीमा खटिएका ४२ जना कर्मचारीले दिनहुँ फोहोर संकलन र व्यवस्थापन गर्छन् । सर्वसाधारणमा पनि चोकचोकमा राखिएका डस्टबिनमा फोहोर राख्ने बानी परिसकेको छ ।

हरेक महिना १ र १५ गते सबै टोल, वडा र गाउँमा सरसफाइ गर्ने नियम बनाइएको छ । ‘नगरको फोहोर व्यवस्थापनका लागि वडा–२ ले आफ्नै व्यवस्थापन समिति गठन गरेर काम गरिरहेको छ,’ उनले भने, ‘१, ३, ४, ५ र ६ वडामा वातावरण सुन्दर नेपाल प्रालिले काम गरिरहेको छ ।’ तिलोत्तमा–५ स्थित तिनाउ खोलानजिकै खाली जग्गामा काम नलाग्नेलाई खाल्टोमा पुरिने र पुनः प्रयोग हुनेलाई कम्पनीको कालीकानगरस्थित सेग्रिगेसन सेन्टरबाट बिक्री गरिँदै आएको कम्पनीका प्रबन्ध निर्देशक बलभद्र पुरीले बताए ।

खनालले वडा–८ मा ६ बिघा क्षेत्रफलमा निर्माण भएको फोहोर संकलन केन्द्रमा प्रविधियुक्त उपकरण जडान भई व्यवस्थापन भइरहेको बताए । त्यहाँ फोहोरको थुप्रोलाई खुम्च्याएर सानो बनाई बिक्री गर्ने, प्लास्टिकजन्य फोहोर छुट्टै बिक्री, कम्पोस्ट मल उत्पादनलगायत काम एकै ठाउँबाट हुने गरी मेसिनले काम गर्ने उनले जनाए । करैया सामुदायिक वन क्षेत्रमा रहेको सुखौरा खोला उकास क्षेत्रमा जनसहभागिता वास स्वास्थ्य सहकारी संस्थाले नगरका ७ देखि १७ वडाको फोहोर संकलन गरी त्यसबाट आम्दानीसहित रोजगारी दिइरहेको छ ।

सहकारीअन्तर्गत ४० जना कर्मचारीले संकलन गरी ल्याएको फोहोर छुट्याएर बिक्री गरिरहेको संस्थाका अध्यक्ष खेम गौतमले बताए । नबिक्ने फोहोर व्यवस्थापन चुनौती भइरहेकाले यूएनडीपी, नगरपालिका र आफूहरूको संयुक्त समन्वयमा पीजीआरपी (प्रोमोटरी ग्रिन रिकभरी प्रोजेक्ट) चलाएर कम्पोस्ट मल बनाउने र पुनः रोजगारीसहित आम्दानीको स्रोत बढाउने काम थालिसकेको उनले जनाए । ‘उक्त प्रोजेक्टको काम अघि बढेको छ,’ उनले भने, ‘बेलर, क्रसर र विकेट मेसिन जोडिसकेका छौं । यी मेसिनले फोहोरलाई धूलो पारेर बिक्रीका लागि तयार गर्नेछन् ।’ प्लास्टिकजन्य वस्तुलाई जलाएर पुनः प्रयोगको वातावरण बनाउन विकेट मेसिन प्रयोग गरिएको उनले बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully