बर्दियामा घरमै महिलाको शव फेला

फाल्गुन ४, २०८१

कमल पन्थी

A woman's body was found at home in Bardia

बर्दिया — ठाकुरबाबा नगरपालिका–१ की ५१ वर्षीया राधा बोहरा घरमै मृत फेला परेकी छन् । खामोमा बाँधिएको अवस्थामा बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । 

'घरको ढोकामा ताला लगाएको अवस्थामा शव फेला परेकोले उनको हत्या गरिएको आशंका छ,’ जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले भने, ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

सामान्य व्यवसाय गर्ने बोहरा पतिसँग सम्बन्ध विच्छेदपछि घरमा एक्लै बस्दै आएकी थिइन् । उनी शुक्रबारदेखि नदेखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी र स्थानीयले खोजतलासका क्रममा आइतबार दिउँसो घरको ताला फोडेर प्रवेश गर्दा उनको शव फेला परेको डीएसपी घर्तीमगरले बताए । 

तालिम प्राप्त कुकुरसहित प्रहरी टोलीले अनुसन्धान गरेको छ । उनकी एक छोरी रोजगारीका सिलसिलामा अमेरिका रहेको प्रहरीले जनाएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully