डोजरले खसालेको ढुंगाले लागेर स्कूल जाँदै गरेकी बालिकाको मृत्यु

फाल्गुन ४, २०८१

गगनशिला खड्का

A girl who was going to school died after being hit by a stone thrown by a dozer

गुल्मी — डोजरले खसालेको ढुंगाले लागेर स्कूल जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ । इश्मा गाउँपालिका-२ टारगाउँमा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुंगाले लागेर ८ वर्षकी विष्णु कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जिवी दाहालले जानकारी दिए । 

जेसीबीले छल्दीबाट हस्तिचौर जाने कच्ची सडक खनिरहेको थियो । बनिरहेको बाटोको तलपट्टिबाट स्कुल जाँदै गरेकी बालिका ढुंगाले लागेर घाइते भएकी थिइन् । 

उपचारका लागि गुल्मी अस्पताल पुर्‍याइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । स्थानीयले भने जेसीभी चालकको लापरबाहीले बालिकाको मृत्यु भएको आरोप लगाएका छन् । 

जेसीभी चालक मकवानपुरका राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार थापा नेतृत्वको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ । 

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully