सोमबारको प्रदेशसभा बैठकमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तयारी
बुटवल — लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको नवौं बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको हो ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनिमय ३ बमोजिम सभामुख तुलाराम घर्तीको निर्देशनानुसार बैठक बस्न लागेको जनाए । प्रदेशसभाको आठौं बैठक माघ २३ गते बसेको थियो ।
लुम्बिनी प्रदेशसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीको सम्बोधनपूर्व प्रदेशसभाको बैठक बस्न लागेको हो । आइतबारको बैठकको सम्भावित कार्यसूची आइतबार बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकबाट टुंगो लाग्ने प्रदेशसभाका सचिव पुनले बताए ।
प्रदेशसभामा सम्बोधनका लागि माघ २५ गते सभामुख घर्तीले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत निमन्त्रणा गरेका थिए । त्यही निमन्त्रणाअनुसार प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री ओली राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार बस्ने सिनेट बैठकमा सहभागी हुन आउने क्रममा प्रदेश सरकारको निमन्त्रणापछि एक दिनअघि नै आएर प्रदेशसभा बैठकलाई पनि सम्बोधन गर्ने गरी प्रदेश सरकारले समय व्यवस्थापन गरेको प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए ।
