हुलाकी सडकको काम तत्काल सुरु नगरे स्थानीयसहित काठमाडौंमा आन्दोलन गर्ने गाउँपालिकाको चेतावनी

माघ २५, २०८१

नवीन पौडेल

The warning of the rural municipality to protest in Kathmandu along with the locals if the postal road work is not started immediately

परासी — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगन्जदेखि बेलाटारीसम्मको हुलाकी सडक निर्माण कार्य अलपत्र परेपछि गाउँपालिकाले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ ।

 

यसअघि गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव र जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय घेराउ र रिले अनसन गर्दा काम तत्काल अगाडि बढाउने सहमति भएको थियो । तर, ठेकेदारले काम नगरेपछि गाउँपालिका अध्यक्षसहित स्थानीयले सडक निर्माणको माग राख्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

प्रतापपुर गाउँपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुलाई पत्र लेखेर फागुन १५ सम्ममा काम सुरु नभएमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ । 

‘जनताले दैनिक धुलो खाँदै र खाडल भएको बाटो हिँड्नु परेको छ । ठेकेदारले काम गर्ने सहमति गरेर काम अलपत्र पारेको छ,’ अध्यक्ष उमेशचन्द्र यादवले भने,‘ फागुन १५ सम्ममा देखिने गरेर काम अगाडि नबढे जनतासहित काठमाडौं गएर मन्त्रालयमा धर्ना दिने छु ।’

६ दशमलव ५ किलोमिटर सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि गाउँपालिका अध्यक्ष यादवले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । त्यसबेला मन्त्री दाहालले तत्काल काम सुरु नगरे ठेक्का रद्द गर्ने आश्वासन दिएका थिए । 

यसअघि असोज २ गते लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख र राजनीतिक दलका प्रतिनिधिको रोहबरमा ठेकेदारले तत्काल काम सुरु गर्ने सहमति गरे पनि काम सुरु गरेको छैन । सडक  निर्माणका क्रममा खनिएको खाडलले गर्दा हिउँदमा धुलो र वर्षात्‌मा हिलोले दैनिकजसो दुर्घटना हुने गरेको छ । 

ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशननालयसँग पटक–पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै यहाँका स्थानीय आक्रोशित छन् । २०७९ सालमा निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि अझै कामले भनेअनुसारको गति लिएको छैन । जसका कारण स्थानीयले दैनिक हैरानी खेप्नुपरेको छ ।

The warning of the rural municipality to protest in Kathmandu along with the locals if the postal road work is not started immediately

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully