अर्घाखाँची — प्रकृतिको कुचिकार गिद्धले यतिबेला प्रजनन् गरिहेका छन् । गिद्धको उपयुक्त बासस्थान मानिने अर्घाखाँचीका जंगलका अग्ला रुख र पहरामा अहिले गिद्धले बच्चा कोरल्दैछन् । कात्तिक/मंसिरमा गिद्धले गुँड बनाउने, पुसमा अण्डा पार्ने, माघ/फागुनमा बच्चा कोरल्ने र वैशाखतिर बच्चालाई उडाउने गर्छन् ।
सल्ला, सिमल लगायतका रुख र भीर पहरामा आठ प्रजातिका गिद्धले बच्चा कोरलिरहेको गिद्ध विज्ञ कृष्णप्रसाद भुसालले बताए । गिद्धले एकपटक एउटा मात्रै अण्डा पार्छ । प्रजनन् सफलता ५० देखि ७७ प्रतिशत हुन्छ । नेपालमा पाइने ९ प्रजातिमध्ये आठ प्रजातिका गिद्ध अर्घाखाँचीमा पाइन्छन् । विश्वमै दुर्लभ संकटापन्न सेतो गिद्धले पनि प्रजनन् गरिरहेको छ ।
जिल्लाको मालारानी गाउँपालिका–५ मा पर्ने घेरा भीर नेपालको पहरामा गुँड बनाउने सबै तीन प्रजातिले एकै ठाउँ गुँड बनाउने क्षेत्र हो । हालसम्मको अध्ययन अनुसार घेरा भीर मात्र एउटा क्षेत्र हो, जहाँ संकटको नजिक रहेका हिमाली गिद्ध र हाडफोर गिद्धका साथै विश्वमै दुर्लभ संकटापन्न सेतो गिद्धले एउटै पहरामा गुँड बनाएको भेटिन्छ । त्यसैले घेरा भीर गिद्ध अनुसन्धानको केन्द्र बन्न सक्ने सम्भावना रहेको भुसालले बताए ।
अर्घाखाँचीका अर्घा, धारापानी, ढाकावाङ, पकले, नरपानी, डिभर्नाका पहरामा संकटापन्न सेतो गिद्धले गुँड बनाएको छ भने विश्वमै दुर्लभ अतिसंकटापन्न डंगर गिद्ध र सुन गिद्धले अर्घा र छत्रदेवका सल्लेरी जंगलमा गुँड बनाएर प्रजनन् गरिरहेको छ । पाँचथरी गिद्ध सधैभरि बस्ने रैथाने भए पनि समय–समयमा सानो खैरे गिद्ध, खैरो गिद्ध र राज गिद्ध पनि बसाइँसराइ गरेर अर्घाखाँची जिल्लामा आउने–जाने गर्छन् ।
गिद्धको प्रजनन्का लागि नेपालकै उपयुक्त ठाउँ घेरा भीर मानिन्छ । हिमाली, मध्यपहाड र चितवनसहित तराईमा बस्ने गिद्धले समुद्री सहतबाट करिब ९ सय मिटर देखि दुई हजार चार सय मिटरसम्मको उचाईमा गुँड बनाउने गर्छन् । पहराको बीच र रुखको टुप्पोमा प्रजनन् गर्ने भएकाले आगलागी र रुख काटेको अवस्थाबाहेक पशुपक्षी र अन्य प्रजातिबाट प्रायः असुरक्षा हुँदैन । गिद्धका बच्चा उड्दा बिजुलीको तारमा ठोक्किने, आहाराको लागि टाढा जानुपर्ने भएकाले अलि समस्या हुनसक्छ ।
अर्घाखाँचीमा यति संख्याले प्रजनन् गरेको भन्ने यकिन तथ्यांक अहिले छैन । गतवर्ष घेरा भीरमा हिमाली गिद्धका ३५, हाडफोरको दुईवटा, डंगरको २१ र सेतो गिद्धको चारवटा गुँड रहेको अनुमान गरिएको थियो । घेरा भीरमा गिद्धसहित सरकारद्वारा संरक्षित पक्षीको सूचीमा समावेश विश्वकै दुर्लभ चिरकालिज पनि रहेको गिद्ध विज्ञ भुसालले बताए । जाडोको बेला मंगोलियाबाट बसाइँ सरेर आउने दुर्लभ गोमायु महाचिल पनि रहेको अर्घाखाँची गरेको अनुसन्धानबाट भेटिएको छ ।
हावापानी, राम्रो बासस्थानको लागि अर्घाखाँची उपयुक्त ठाउँ मानिन्छ । बच्चा हुर्केपछि अर्घाखाँची छाडेर अन्य पहाडी जिल्ला र तराईमासमेत आउजाउ गर्छन् । पछिल्लो समय गाउँमा गाइवस्तु पालनको संख्यामा कमी आएकाले आहारा खोज्न टाढा जान्छन् । गिद्धले आफैं सिकार नगर्ने तर, मरेका जनावर मात्रै खाने भएकाले प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ राखी गाउँसहरमा महामारी, सरुवा रोग लाग्नबाट जोगाउने पक्षीका रुपमा गिद्ध रहेको छ ।
‘पछिल्लो समय आहाराको कमीले गिद्धको संख्या घटिरहेको छ,’ उनले भने, ‘९५ प्रतिशतभन्दा बढीले घट्नु संकटापन्न अवस्थामा पुग्नु हो । यदि गिद्ध लोप भए भने प्राकृतिक चक्र नै फेरिन्छ ।’ १० वर्षअघिसम्म नेपालमा पाँच लाख गिद्ध थिए । भारतमा १६ करोड थिए । भुसालका अनुसार एकदशकमा दक्षिण एसियासहित नेपालमा गरी ९५ प्रतिशत गिद्ध लोप भए ।
विश्वमै दुर्लभ गिद्ध र चिरकालिजको बासस्थान भएको अर्घाखाँची जिल्लाको उत्तरी भूभागलाई अर्घा महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र घोषणा गरिएको छ । गिद्धको बासस्थानको रुपमा परिचित घेरा भीर र त्यस आसपासको क्षेत्रलाई समेटी चरामा विश्वव्यापी रुपमा काम गर्ने वैज्ञानिक संस्था बर्डलाईफ इन्टरनेशनल र नेपालमा चराको क्षेत्रमा काम गर्ने नेपाल पन्छी संरक्षण संघको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूःसंरक्षण विभागले अर्घा महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र घोषणा गरेका हुन् ।
नेपालका महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र पुस्तकका अनुसार नेपालमा ४२ त्यस्ता क्षेत्रहरु पर्छन् । जिल्लाको मालारानी गाउँपालिकामा पर्ने घेरा भीर नेपालको पहरामा गुँड बनाउने सबै तीन प्रजातिले एकै ठाउँ गुँड बनाउने क्षेत्र भएकाले घेरा भीर गिद्ध अनुसन्धानको केन्द्र बन्न सक्ने सम्भावना रहेको छ । अर्घा महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा हालसम्म २ सय ५० भन्दा बढी प्रजातिका चराहरु अभिलेख गरिएको छ । यस क्षेत्रको प्रचार–प्रसार तथा प्रवर्द्धन गर्न सके देश विदेशका अनुसन्धानकर्ता तथा पर्यटकहरु दुर्लभ गिद्ध, चिरकालिज र यहाँको सुन्दर भू–दृश्यको अवलोकनका लागि आउन सक्छन् ।
हालै घोषणा गरिएको विश्वमै परिचित यस महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रको थप अध्ययन, अनुगमन र प्रवर्द्धनको लागि नेपाल सरकार र सरोकारवाला निकायबाट पहल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । विगत १५ वर्षको निरन्तर खोज तथा अनुसन्धानको प्रतिफलस्वरुप अर्घा महत्त्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र बनेको छ । अब यस क्षेत्रको पर्यटन प्रवर्द्धन र संरक्षणमा जोड दिनुपर्ने आवश्यकता रहेको भुसालको भनाइ छ ।
घेरा भीरमा तीन प्रजातिका दुर्लभ गिद्ध, तिनको गुँड र प्रजनन् गतिविधिको अवलोकन, अनुसन्धान गरिएको छ । घेरा भीरको शीरमा रहेको मालारानी मन्दिरबाट अर्घाखाँची, गुल्मी र प्यूठानका तरेली परेका पहाड, सम्म फाँट र धौलागिरी, अन्नपूर्ण र मनास्लुको सुन्दर हिमश्रृंखला देख्न पाइन्छ ।
