कि उद्योग बन्द हुन्छ कि त मानव बस्ती सार्नुपर्छ : उद्योगमन्त्री भण्डारी
रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा रहेको विवादित चुनढुंगा खानी क्षेत्रमा उद्योगमन्त्री दामोदर भण्डारीले बिहीबार स्थलगत अवलोकन गरेका छन्। वर्षौंदेखि अवैध रूपमा चुनढुंगा उत्खनन भइरहेको गुनासोपछि मन्त्री आफैं आएर पहिलोपटक अवलोकन गरेका हुन्।
करिब आधा दशकदेखि दुईवटा कम्पनीले निरन्तर रूपमा चुनढुंगाको उत्खनन गरिरहेका छन्। खनिज पदार्थ उत्खनन गरेबापत सरकारलाई कर नतिरेको व्यापक गुनासो आइरहेको छ। स्थानीयबासीको मागलाई बेवास्ता गर्दै रोल्पा चुनढुंगा प्रालि र शिव स्वरुप खनिज उद्योग प्रालिले अवैध रूपमा चुनढुंगा उत्खनन गर्दै आएका हुन्। उत्खनन रोक्न सर्वोच्च अदालतसम्म मुद्दा लडेको गाउँपालिकाले खानी कम्पनीबाट स्थानीय र संघीय सरकारलाई ७० करोड कर उठाउन बाँकी रहेको जनाएको छ।
त्रिवेणी गाउँपालिका र स्थानीय खानी पीडितको गुनासोपछि उद्योगमन्त्री भण्डारी स्थलगत अनुगमन एवं अवलोकन गर्न आइपुगेका हुन्। उनले अवलोकनका क्रममा चुनढुंगा उत्खनन गर्दा कम्पनीले स्थानीयसँग सहमति नगरेकाले थुप्रै समस्या आइपरेको बताए ।
'मानव बस्तीको बीचमा उद्योग संचालन गरिएको रहेछ। उद्योगका कारण स्थानीयबासीमा धूवाँ धूलो मात्रै होइन, चर्को आवाजले दु:ख दिएको छ,' मन्त्री भण्डारीले भने, 'मानव बस्ती जोखिममा छ। नजिकैको विद्यालय र विद्यार्थीलाई नकारात्मक असर गरेको छ। अवलोकन गर्दा के पाइयो भने कि उद्योग बन्द हुन्छ कि त बस्ती अन्यत्र सार्नुपर्ने हुन्छ।' उनले २ साताभित्र मन्त्रालयले खटाएको प्राविधिक तथापि अनुगमन टोलीले टुंगो लगाउने समेत बताए। उद्योग वाणिज्य मन्त्रालयका औद्योगिक प्रवर्द्धन महाशाखा प्रमुख जितेन्द्र बस्नेतको नेतृत्वमा अनुगमन टोली गठन गरिएको उनले बताए। पछिल्लोपटक सिमेन्ट उद्योगले गरेको मूल्य वृद्धिको समेत उक्त टोलीले अनुगमन गर्ने उनले बताए ।
मन्त्री भण्डारीले उद्योग संचालन गर्दा स्थानीय सरकारसँग समन्वय नहुँदा धेरै प्रकारको समस्या आइपरेको बताए । यसअघि प्रदेश सांसद र स्थानीयका बीचमा ९ बुँदे सहमति गरिएको जानकारी पाएको बताउँदै उनले खानी उत्खनन गर्ने कम्पनीलाई समाधानका लागि सहज हुन आग्रह समेत गरे। उद्योग संचालकसँग कुरा गरेर वातावरणमैत्री, स्थानीयमैत्री र कानुनमैत्री तरिकाले उद्योग चलाउनुपर्ने उनको सुझाव छ। अनुगमनपछि स्थानीयको मागलाई माथिल्लो निकायसम्म पुर्याउने र छिटो समाधान खोज्ने मन्त्री भण्डारीले बताए।
