प्यूठान — एक गाग्री पानीका लागि बिहान झिसमिसेमै पँधेरो पुग्नुपर्थ्यो । अलिकति ढिलो हुँदा पनि पानी भर्नेको लामो लाइन । पँधेरोमा पुगेर एक गाग्री पानी घरसम्म पुर्याउन तीन घण्टा बढी समय लाग्थ्यो । ढाडभरी डोकोका निलडाम । तै पनि खाना पकाउनदेखि पिउने पानीका लागि यति नगरी नहुने बाध्यता थियो कुवारी विकका लागि ।
प्यूठानको ऐरावती गाउँपालिका–४ तिल्केनी महपोखरीकी कुवारीको पानी पँधेरोको यो बाध्यात्मक दैनिकी नै थियो । एक वर्ष जति भयो कुवारीको ढाडले सुख पाएको छ । निलडाम बस्नेगरी डोको बोक्नुपरेको छैन । गत वर्षको असोजमा लिफ्टमार्फत् गाउँमा खानेपानी आएपछि कुवारीको समय बचत त भएकै छ त्यसैमाथि भीरको बाटोमा जोखिमपूर्ण तरिकाले गाग्री बोक्नुपर्ने बाध्यता पनि हटेको छ ।
‘घरमै पानी आउन थालेपछि पँधेरो जानु परेको छैन,’ उनी भन्छिन्,‘पँधेरो जान नपरेपछि त्यो समयमा त अरु काम गर्न सकिँदो रहेछ ।’ बिहानै पँधेरो जाँदा घरको काम गर्न समय नै नहुने उनलाई अहिले घरको कामगरी मेलापात र काममा जानसमेत समय प्रसस्तै हुने गरेको छ । ‘बिहान ५ बजेतिर उठे पनि घरको काम सक्दासम्म ८/९ बजिसक्छ । त्यसपछि आयआर्जनका काममा जानेसमेत समय मिलेको छ,’ उनी भन्छिन् ।
कुवारी मात्र होइनन्, अहिले तिल्केनीका सबै महिलाको दैनिकी सहज बनेको छ । लिफ्टमार्फत् खानेपानी आएपछि गाउँका सबै घरमा धारा जडान गरिएका छन् । ‘बिहान ७ बजेदेखि ८ बजेसम्म पानी आउँछ । एक घण्टा आएको पानी पिउन, वस्तुभाउ र सिँचाइका लागि पनि पर्याप्त पुग्छ,’ स्थानीय बालिका गुरुङ सुनाउँछिन् ।
बालिकाले बिहे गरेर आएदेखि नै गाउँमा खानेपानीको समस्या थियो । महिलाका लागि तीन घण्टाको पानी पँधेरो दैनिकी नै थियो । अहिले घरमै पानी आउँदा आफूहरुले सुख पाएको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘वर्षौंदेखिको समस्या अहिले समाधान भएको छ । घर, मेलापात र अरु कामसमेत आफैं गर्नुपर्ने हामी महिलालाई सहज भएको छ । अहिले पानीकै लागि बिहानै आँखा मिच्दै भीरको बाटो पँधेरोसम्म जानुपर्दैन । घर–घरै धारा जडान भएका छन् ।’
ऐरावती गाउँपालिकाको महपोखरी, तिल्केनी, लिपिकोट, काफलबुटा, चुत्रेनी, जावुने, सिख्रे र बुढीचौरका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । एक गाग्री पानी ल्याउन यी गाउँका २ सय १६ घर परिवार एक घण्टादेखि ३ घण्टासम्म टाढा पुग्ने गर्थे । पुस्तौंदेखिको मैनरीको मुहान, घ्वाङखोला, बितिनीलगायतका पँधेरोमा पुगेर पानी ल्याउने गरेको चुत्रेनीका स्थानीय खुबहादुर रोकामगर बताउँछन् । ‘घरमा एक्लो भएकालाई त बिरामी हुँदा पिउने पानीसम्म नपाउने अवस्था थियो । अहिले घर–घरै धारा जडान भएपछि मानिसका लागि मात्र होइन, वस्तुभाउका लागि पनि पानी जोहो गर्नुपर्ने दु:ख हटेको छ,’ उनले भने ।
घ्वाङखोला लिफ्ट खानेपानी आयोजना गत वर्षको असोजदेखि सञ्चालनमा आएको हो । घ्वाङखोलामा ट्यांकफ निर्माण गरेर तिनवटा मोटरमार्फत् पानीलाई तिल्केनीको टाकुरामा ल्याइएको छ । यहाँबाट शाखा ट्याङकीमा पानी पठाउने गरिन्छ । ती शाखाबाट तीनजना अपरेटरले आ–आफ्नो समय र गाउँअनुसार पानी छाड्ने गरेका छन् ।
लिफ्टमार्फत् पानी आएपछि पँधेरासम्म पुग्ने बाध्यता हटेको र स्वच्छ पानी पिउन पाएको घ्वाङखोजाल लिफ्ट खानेपानी वितरण समितिका अध्यक्ष ज्ञानबहादुर गुरुङ बताउँछन् । २ सय १६ घरधुरीसम्म उक्त लिफ्ट आयोजनाबाट पानी पुग्छ । हालसम्म १ सय ३५ घरमा धारा जडानको काम सकिएको उनले बताए । पाइप समस्याले अहिलेसम्म पानी नपुगेका घरमा यस वर्षको अन्त्यसम्म पुर्याइने उनको भनाइ छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलले आ.व. २०७७/०७८ देखि निर्माण सुरु गरेको आयोजना २०७८/०७९ मा सम्पन्न भएको थियो । ४ करोड ५४ लाख ९४ हजार ३९६ रुपैयाँ लागतमा निर्माण भएको ऐरावती गाउँपालिका चुत्रेनीसमेत बृहत खानेपानी आयोजना स्किम २ अर्न्तगत घ्वाङखोला लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएको हो । उक्त आयोजनाका लागि ऐरावती गाउँपालिकामार्फत् ३२ लाख रुपैयाँमा ५ किलोमिटर लामो विद्युतीकरणसमेत भएको छ ।
गाउँमा पानीको सहज व्यवस्थापन भएसँगै यस क्षेत्रका स्थानीय आयआर्जनमासमेत जोडिन थालेका छन् । आकासे पानीको भरमा खेतीपाती गर्ने किसान लिफ्टबाट पानी गाउँसम्म पुगेपछि अहिले व्यवसायिक तरकारी खेतीसमेत गर्दै आएका छन् । स्थानीय विनोद रोकामगर भन्छन्, ‘पानीको समस्याले खेतबारी बाँझो हुन्थे, अहिले खानका लागि मात्र नभइ त्यही पानीले सिँचाइसम्म गर्न पाएका छौं । पहिलोपटक मैले पाँच हजारको तरकारी बेचेँ । अहिले गाउँका सबै व्यवसायिक तरकारी खेतीमा लागेका छन् ।’
यस्तै विद्यालयका लागि पनि सहज बनेको छ । विद्यार्थीलाई टाढाबाट बोकेर ल्याइएको सीमित पानी खुवाउनुपर्ने बाध्यता रहेकोमा अहिले सहज भएको ऐरावती गाउँपालिका वडा नम्बर ४ स्थित समाजकल्याण प्राविका प्राधानाध्यापक चेतबहादुर थापाले बताए । ‘गाग्रीमा बोकेर ल्याएको पानी कति नै हुन्थ्यो र? प्राय त्यो पानी पुग्दैनथ्यो । अहिले चौविसै घण्टा पानी आउँछ । खानका लागि मात्र होइन, सरसफाइका लागि पनि सहज भएको छ,’ उनले भने ।
उक्त खानेपानी आयोजनाबाट ऐरावतीका ३ र ४ नम्बर वडाका केही भू–भागका साथै माण्डवी गाउँपालिकाका सिख्रेलगायतका गाउँ पनि लाभाम्वित बनेका छन् । पहाडको चुचुरामा रहेका बस्तीमा खानेपानी समस्या हल गर्नका लागि प्रदेश र संघीय सरकारको सहयोगमा गाउँपालिकाले यस्ता आयोजना निर्माण गरेको गाउँपालिका अध्यक्ष नविलविक्रम शाह बताउँछन् ।
गाउँपालिकामा दुईवटा ठूला लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आइसकेका छन् । अरु साना–ठूला गरी गाउँपालिकाभित्र १० वटा लिफ्ट खानेपानी योजना सञ्चालनमा छन् । वडा नम्बर ६ को झिमरुकखोला बिजुलीकोट लिफ्ट खानेपानी आयोजना र वडा नम्बर ४ को घ्वाङखोला लिफ्ट खानेपानी आयोजना ठूला आयोजना हुन् ।
उनले भने,‘लिफ्टमार्फत् पानी खाने उपभोक्तालाई गाउँपालिकाले विद्युत् महसुलको ५० प्रतिशत रकम तिरिदिने समेत गरेको छ । गाउँपालिकाभित्रका १० वटा लिफ्ट खानेपानी आयोजनाको विद्युत् महसुलवापत गत वर्ष गाउँपालिकाले १३ लाख रुपैयाँ तिरिदिएको थियो । गाउँपालिकाले यस्तो छुट दिएपछि उपभोक्ताले पनि पानीको बिलमा छुट पाएका छन् । प्रतिमहिना न्यूनतम ४ सय रुपैयाँ तिर्नुपर्ने उनीहरुले हाल ३ सय रुपैयाँ तिर्छन् ।’
