कपिलवस्तु — किशोरीहरूको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि जिल्लामा मंगलबारबाट एचपीभी खोप लगाउन सुरु गरिएको छ । सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माविमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले खोप किट स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर खोपको सुरुवात गरेका हुन् ।
पहिलो चरण माघ २२ देखि २८ गतेसम्म कपिलवस्तु, कृष्णनगर र शिवराज नगरपालिका तथा विजयनगर र यशोधरा गाउँपलिकाका विद्यालयमा लगाउन थालिएको छ । दोस्रो चरण माघ २९ देखि फागुन ६ गतेसम्म वाणगंगा, बुद्धभूमि र महाराजगन्ज नगरपालिका तथा मायादेवी र शुद्धोधन गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिनेछ ।
जिल्लाका ४४ हजार ४ सय ७१ किशोरीलाई खोप दिने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताए । तीमध्ये विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ३६ हजार ७ सय ५६ किशोरी र विद्यालयबाहिर रहेका ७ हजार ७१४ किशोरी रहेका छन् ।
अभियान सफल बनाउन ५ सय ७२ खोप केन्द्र स्थापना गरिएको छ । प्रत्येक केन्द्रमा एक जना भ्याक्सिनेटर र दुई जना स्वयंसेवक रहने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका खोप अधिकृत दिवाकर महर्जनले बताए ।
