मौलिक हक कुण्ठित गर्न दिइने छैन : सांसद गैरे

माघ २१, २०८१

माधव अर्याल

Fundamental rights will not be allowed to be suppressed: MP Gayre

पाल्पा — संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति ठाकुर गैरेले कुनै पनि हालतमा मौलिक हक कुण्ठित गर्न नदिइने बताएका छन् ।

हज्जारौं सहिदको बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि आफूले कुनै पनि मूल्यमा कुण्ठित गर्न र कमजोर बनाउन नदिने उनले बताए । प्रेस चौतारी पाल्पाको नवौं जिल्ला अधिवेशनमा सोमबार आएका एमाले पोटिव्युरो सदस्यसमेत रहेका सांसद गैरेले भने, ‘म पत्रकारहरूलाई विश्वास दिलाएर भन्न चाहन्छु, नेपाली जनताले बलिदानी संघर्ष गरेर, हज्जारौं सहिदले बलिदानी दिएर प्राप्त गरेको मौलिक हकलाई कुनै पनि मूल्यमा कुण्ठित र कमजोर बनाउन दिइने छैन ।’

लोकतान्त्रिक संविधानले दिएको अधिकार भनेकै नेपाल राज्यको सम्प्रभुता नेपाली जनतामा अन्तर्निहित हुने र नेपालको सार्वभौमसत्ताको मालिक जनता नै भएको समेत बताए । ‘हिजो लडेर प्राप्त गरेको उपलब्धिलाई संविधानले स्वीकार गरेको छ,’ उनले भने, ‘मौलिक हकको रक्षा गर्नु हाम्रो दायित्व, कर्तव्य र जिम्मेवारी हो ।’ 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सरोकारवालासँग छलफल गरिनुपर्नेमा त्यसमा संचार मन्त्रालय चुकेको बताए । ‘तर सरकार र संचार मन्त्रालय, एमाले पार्टीको नियत खराब भएजस्तो लाग्दैन,’ उनले भने, ‘प्रेस तथा वाक् स्वतन्त्रता, प्रजातन्त्र, लोकतन्त्र, प्रजातान्त्रिक अभ्यासका विषयमा हामी प्रस्ट छौं ।’

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully