पाल्पा — पाल्पा जिल्लाका विभिन्न स्थानमा रहेका सिमसार क्षेत्र जोगाउन स्थानीयले माग गरेका छन् । उनीहरुले मानवीय अतिक्रमण, फोहोर व्यवस्थापन र मिचाहा झारपातका कारण पुरिँदै गएकाले यसको संरक्षण गर्न माग गरेका हुन् ।
‘सबैभन्दा पहिलो सरोकारवाला निकायले अतिक्रमण रोक्नुपर्छ,’ प्रभासताल छेउ भेटिएका बगनासकाली गाउँपालिका–८, बराङ्दीका दामोदर घिमिरेले भने, ‘प्रभास ताल हेर्दाहेर्दै फोहोर भएको छ । यसको अतिक्रमण भएको छ । कमलका फूल फुल्न छाडेका छन् ।’
जिल्लामा प्रभास ताल मात्र होइन, सत्यवती ताल, सुकेताल, सीताकुण्ड, सूर्य कुण्ड, माडी बुडुवा लगायतका स्थानमा वर्षैभरि पानी जम्ने क्षेत्र छन् । प्रभास ताल र सिमसार क्षेत्रका वरपर मानवीय अतिक्रमणले अहिले वरपर भवन निर्माण, मोटरबाटो खनिएकाले संकटमा परेका हुन् ।
तानसेन नगरपालिका-७ प्रभास ताल (कमलपोखरी) र यसको वरपर ठूलो क्षेत्रमा सिमसार जग्गा छ । तर यहाँ वरिपरि अतिक्रमणले जिल्ला समन्वय समितिको ३४ रोपनी ताल क्षेत्र वरपरका व्यक्तिगत जग्गा अतिक्रमणले पुरिने अवस्थामा पुगेको छ । स्थानीय सरकारले अधिग्रहण गर्न सकेको छैन । स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, स्थानीय तहको बेवास्ताले सिमसार क्षेत्र पुरिँदै गएका हुन् । तानसेन नगरपालिका–१०, तेल्घाका मोहन गैरेका अनुसार तीन चार वर्ष प्रभासको ताल विजोग अवस्थामा थियो । तर दुई वर्षअघि वडा कार्यालय र नगरपालिकाले सफाइ गरेपछि यसवर्ष कमलको फूल फुल्यो । ‘तर जति काम हुनुपर्ने हो त्यति भएको पाइएको छैन,’ उनले भने, ‘जसले गर्दा सिमसार क्षेत्र जोगिन सकेको छैन । मुख्य कुरा कसैको पनि चासो नै देखिएको छैन ।’
प्रभास तालमा लुम्बिनी मेडिकल कलेज र वरपर बनेका भवनबाट निस्केको पानी र फोहोर कै कारण दुर्गन्धित बनेको रैथाने बासिन्दाको आरोप छ ।
पछिल्लो समय व्यक्तिगत लालपुर्जा भएकाहरुले माटो खनेर पुर्दै लग्नु अर्को दुर्भाग्य हो । कमलपोखरी (प्रभासताल) को किनारैमा ठूला भवनहरु बनेका छन् । अस्पताल हाताबाहिर बस्तीमा नयाँ घर बन्ने क्रम जारी छ । यहाँबाट निस्कने ढल तथा फोहर प्रभास तालमा गएको छ । ‘काम गरेकाहरुले गरे भनेका छन् तर पर्याप्त काम नहुँदा गरेको जस्तो देखिएको छैन,’ स्थानीय विनोद तिमिल्सेनाले भने, ‘यसका लागि स्थानीय बासिन्दा र जनप्रतिनिधि नै तात्नु पर्छ र जोगाउनु पर्छ ।’
प्रभास कमलपोखरी क्षेत्रमा जलचरको लागि अनुकूल रहेको थियो । पोखरीमा कत्ले माछा, असला माछा, कछुवा रहेको थियो । स्थानीयका अनुसार यहाँ जंगली धान पाइन्थ्यो । अतिक्रमण र फोहोरले गर्दा धान लोप भएको छ । डिभिजन वन प्रमुख नारायण देव भट्टराईले प्रभास क्षेत्रमा काम गर्न खोजेको तर विभिन्न अवरोध आएपछि निरन्तरता दिन नसकेको बताए । ‘प्रदेश सरकारले बजेट विनियोजन गरेर काम अघि बढाएको थियो,’ उनले भने, ‘विविध कारणले निरन्तरता दिन सकिएको छैन ।’
पहिला प्रशस्त जीवजन्तु भेटिए पनि अहिले छैनन् । नगरपालिकाको समन्वयमा बजार तथा बस्तीको सम्भावित विस्तारलाई व्यवस्थित तुल्याउन वरिपरिको बस्तीमा भू–उपयोग योजना लागु गर्ने प्रतिबद्धता मेडिकल कलेजले जनाएको थियो । अस्पतालजन्य फोहरमैला व्यवस्थापन निर्देशिका, २००२ तथा नेशलन डिस्चार्ज स्यान्डर्डअनुसार अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता पनि कार्यान्वयन नगर्दा ताल क्षेत्र दुर्गन्धित बन्दै गएको आरोप छ ।
आयोजना क्षेत्रभित्र तथा बाहिर ढल निकासको उचित प्रबन्ध मिलाइने र फोहर पानीलाई शुद्धीकरणपश्चात् मात्र प्राकृतिक जनक्षेत्रमा मिसाउने जनाएको छ । अहिले जथाभावी घर निर्माण, माटो फाल्ने र ताललाई छेकेर जग्गा प्लटिङले गर्दा पनि सिमसार क्षेत्र अतिक्रमण भएको छ । सिमसार क्षेत्रका रुपमा रहेको धार्मिक एवं पर्यटकीय महत्व रहेको सत्यवती तालसमेत पुरिँदै जाँदा सम्बन्धित निकायको चासो देखिएको छैन । तानसेनदेखि करिब २० किलोमिटर दक्षिण १ हजार ३ सय मिटर पहाडको टुप्पोमा ताल छ ।
कोलडाँडाको बीच जंगलमा पर्ने ताल पोखराको वेगनास, रुपा, फेवाताल जस्तो ठूलो नभए पनि धार्मिक दृष्टिले यो महत्वपूर्ण छ । तालको मुल मुहान कतै देखिँदैन । पहिले तालमा वर्षैभरि पानी भरिभराउ रहन्थ्यो । अहिले कसैको वास्ता नहुँदा माटो, पातपतिङ्गगरले पुरिँदै जाँदा पानी अडिन नसकेको स्थानीय दानबहादुर गाहाले बताए । रामपुर नगरपालिकाको सीता कुण्डको पनि सिमसार (दलदल) क्षेत्र संरक्षण हुन सकेको छैन ।
तिनाउ गाउँपालिका, २ कै सुकेतालको पनि संरक्षणमा बजेट प्रशस्त नभएको स्थानीयको गुनासो छ । जिल्लाकै अन्यत्र रहेका सिमसार दलदल क्षेत्रको संरक्षणमा ध्यान पुग्न सकेको छैन । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले सीताकुण्ड क्षेत्रको संरक्षणका लागि नगरपालिकाले योजना बनाएको बताए । विस्तृत प्रतिवेदन परियोजना (डीपीआर) तयार भएको र आगामी दिनमा संरक्षणका लागि अभियान नै थालिने बताए । ‘सीताकुण्ड क्षेत्रका बासिन्दालाई घरबेटी र तल्लो क्षेत्रका जन्ती बनाएर सीता कुण्डको जन्ती जाने र रमाइलो कार्यक्रम राखिनेछ,’ उनले भने । यहाँको जंगली धानको संरक्षणका लागि पनि अध्ययन भएको उनले बताए ।
