लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

गोली लागेर रामग्राममा एक जना घाइते 

माघ १८, २०८१

नवीन पौडेल

The police opened fire to arrest the drug dealer

परासी — पश्चिम नवलपरासीको रामग्राममा लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । जिल्लाको रामग्राम नगरपालिका-१२ पचगावामा छापा मार्ने क्रममा प्रहरीको गोली लागेर ५२ वर्षीय राजेश लोनिया घाइते भएका हुन् ।  

लोनियाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट आएको प्रहरी टोलीले ब्राउन सुगरसहित नियन्त्रणमा लिन खोज्दा लोनिया भाग्न खोजेको र प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाइएको प्रहरीको  दाबी छ । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेसम बोहोराका अनुसार  प्रहरीमाथि आक्रमण गर्न आएको र प्रहरीको साथमा रहेको पेस्तोल खोस्न लागेपछि ४ राउण्ड गोली प्रहार गर्दा लोनियाको बायाँ खुट्टाको साँप्रामा एक राउन्ड गोली लागेको छ ।

घाइते लोनियाको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ । छापा मार्ने क्रममा प्रहरीले लोनियाको घरबाट ९३ पुरिया ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका लोनिया यसअघि २०७८ सालमा लागूऔषध कारोबारमा संलग्न रहेको पुष्टि भएपछि सजाय भोगेका व्यक्ति हुन् ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully