पाल्पा — माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले राज्यको कानुनअनुसार समान ढंगले अनुसन्धान हुनुपर्ने बताएका छन् । आफ्नो पार्टीको नेता, कार्यकर्तालाई मुद्दा नचलाउने तर फरक विचार राख्नेलाई जेल पठाउने वर्तमान सरकारको प्रवृत्तिप्रति उनले आक्रोश व्यक्त गरेका हुन् ।
माओवादी केन्द्र रिब्दीकोट गाउँ समिति पाल्पाको तेस्रो अधिवेशनको बुधबार उद्घाटन गर्दै माओवादी केन्द्रका नेता पुनले फरक विचार राख्ने र सर्वसाधारणप्रति सरकारले स्वेच्छाचारी ढंगको व्यवहार गरेको बताए ।
‘अहिलेको सरकारले अनुसन्धान, न्यायिक र अभियोजन हातमा लिने भनेको स्वच्छाचारी आचरण र भ्रष्ट्राचार हो,’ उनले भने, ‘आफ्ना कार्यकर्तालाई तत्काल छाडिन्छ अनि सर्वसाधारण र फरक बिचार राख्नेलाई जेल पठाइन्छ । के यस्तैलाई कानुनी राज भन्ने ?’ लेखा समितिको सभापतिको श्रीमतीलाई लुकाउने, अदालतमा हाजिर गराएर उसै दिनमा धरौटीमा छाडेकामा समेत नेता पुनले त्यस्तो प्रवृत्तिप्रति असहमति जनाए । यसप्रकारको लोकतन्त्रलाई उनले लोकतान्त्रिक पद्धति नै नभएको जिकिर पनि गरे ।
गणतन्त्र स्थापित गरेर जनताको शासन स्थापित गर्नमा माओवादीको भूमिका उल्लेख्य रहेको उनले बताए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, माओवादी केन्द्रका निर्वाचन आयोगका केन्द्रीय सदस्य चक्रव्युह थापा, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की लगायतले माओवादी नेतृत्वको सरकारले जनपक्षीय काम गरेको बताए ।
