ट्रम्पको नीतिले ५० हजार नेपाली फर्किन सक्छन् : पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

माघ १५, २०८१

गगनशिला खड्का

50,000 Nepalis can return with Trump's policy: Former Foreign Minister Gyawali

गुल्मी — पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अवैध आप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले अमेरिकामा रहेका करिब ५० हजार नेपाली प्रभावित हुन सक्ने बताएका छन् । अमेरिकामा ओभरस्टे र अवैध बाटोबाट गएका करिब ५० हजार नेपाली निकाला हुन सक्ने उनको अनुमान छ ।

‘अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने ट्रम्पको नीति छ, सायद नेपालीहरू पनि ठूलै संख्यामा ओभरस्टे वा अवैध बाटोबाट प्रवेश गरेका छन्, उनीहहरू प्रभावित हुन सक्छन्,’ गुल्मीको तम्घासमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘त्यो संख्या ५० हजारको हाराहारीमा हुन सक्छ भन्ने अनुमान छ । तिनलाई फर्काउने स्थिति देख्छु मैले ।’ 

ट्रम्पको नीतिले तीन–चारवटा क्षेत्रमा नेपालमा सहयोग कटौती हुने ज्ञवालीको भनाइ छ । ‘ट्रम्प प्रशासन अर्थात् त्यहाँको रिपब्लिकन पार्टी गर्भपतनविरोधी हो । त्यसैले गर्भपतन र सुरक्षित मातृत्वसँग सम्बन्धित सहयोग रोकिने करिब निश्चित छ । दोस्रो जलवायु परिवर्तनको विपक्षमा छ ट्रम्प प्रशासन । जसमा नेपाल असाध्यै ठूलो जोखिममा छ । त्यससम्बन्धी अमेरिकी सहयोग पनि कटौती हुने म देख्छु,’ उनले भने । 

नेपालको व्यापारमा समेत ट्रम्प नीतिको असर पर्न सक्ने उनले बताए । ‘नेपालले ७६ वटा आइटमहरू अमेरिकी बजारमा बिनाकोटा, बिनाभन्सार पहुँच पाएको छ र त्यसले अमेरिकासँगको व्यापार थोरै भए पनि नाफामा छ । त्यसमा रिभ्यु भयो भने हामीलाई अलिकति घाटा हुन्छ,’ उनले भने ।

यूएसआईडीमार्फत हुने वर्षको १४/१५ अर्ब रुपैयाँ सहयोग र एमसीसीको एकमुष्ट ५० अर्ब रुपैयाँ लगायतका सहयोगमा केही शीर्षकहरू परिवर्तन भए पनि ठूलो नहुने उनको आकलन छ । ‘आखिर अमेरिकालाई पनि अन्तर्राष्ट्रिय एलाइन्स त चाहिएला नै,’ उनले भने, ‘त्यसो भएको हुनाले केही केही कुरामा चेन्ज भए पनि सहयोगले निरन्तरता पाउला भन्ने अपेक्षा गर्दछु । ’

ट्रम्पको शासनकालमा अमेरिका–चीन्न सम्बन्ध तिक्त हुने, व्यापार युद्ध बढ्ने र तनाव चर्किने भएकाले त्यसको असर नेपालमा पर्न सक्ने ज्ञवालीको भनाइ छ । ‘त्यसका बाछिटाहरू नेपालमा पनि पर्न सक्ने देखिन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा नेपालले आफ्नो सन्तुलित परराष्ट्र नीतिलाई अझ दृढतापूर्वक अगाडि बढाउन जरुरी छ ।’

गगनशिला खड्का खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully