दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्द्वको घाउ सधैँका लागि मेटाउने गरी परिपूरणलगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समितिसँगको छलफलमा सोमबार मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले द्वन्द्वपीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने बताए । ‘द्वन्द्व घाउ सधैँका लागि मेटाउने गरी सरकारले काम अघि बढाएको छ । कानुनी रुपमा नै यो समस्या समाधान गर्न सरकारले विधेयकसमेत पारित गरेर कार्यान्वयन चरणमा पुर्याएको छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश स्थापना भएदेखिनै द्वन्द्वपीडित र तिनका परिवारका सदस्यको निःशुल्क उपचार र उत्पादनसँग जोड्न सीपमूलक तालिम सञ्चालन गरिएका छन् ।’
लुम्बिनी प्रदेश द्वन्द्वबाट प्रभावित भएको र धेरै क्षति व्यहोरेको प्रदेशमा पर्ने उल्लेख गर्दै उनले सरकारले परिपूरणको योजना निर्माण गरेर अघि बढ्ने बताए ।
मुख्यमन्त्री आचार्यलाई संघका संस्थापक अध्यक्ष तथा संरक्षक नवराज श्रेष्ठ र कोषाध्यक्ष हरि सुनारले परिपूरणका योजनासँग जोडिएका विषयहरू समेटिएको ज्ञापन पत्र बुझाएका थिए ।
