बढैयातालमा थारु संस्कृति, कृषि पर्यटन महोत्सव  

माघ १३, २०८१

कमल पन्थी

Tharu Culture, Agri Tourism Festival at Baghaiyatal

बर्दिया — बर्दिया बढैयाताल गाउपालिकामा रहेको बढैयातालमा माघ १५ देखि २५ गतेसम्म थारु संस्कृति, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । 

थारु समूदायको नयाँ वर्षको अवसर पारेर थारु कल्याणकारीसभाले महोत्सवको आयोजना गरेको हो । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा थारु कल्याणकारीसभा बढैयातालका संयोजक शंकरप्रसाद थारुले महोत्सवको सम्पूर्ण तयारी भइसकेको जानकारी दिए । महोत्सवमा थारु संस्कृति झल्कने कला, थारु समुदायको खानाको परिकारलगायत गीत, नृत्य हुने आयोजकले जनायो । 

बढैयाताल पर्यटकीय गन्तव्य भएकोले यस्को प्रचार प्रसारमा थप टेवा मिल्ने उनले बताए । महोत्सवमा रमाइलो मेला, थारु संस्कृति झल्कने कार्यक्रम, राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता हुने आयोजकले जनाएको छ । घरेलु उद्योगका सामग्रीलगायत कृषि, माछा र उद्योगमा आधारित वस्तु पनि राखिने भएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully