भैरहवा — रूपन्देहीमा गएको पाँच महिनामा ८० जना कुष्ठरोगका बिरामी फेला परेका छन् । गएको साउनदेखि पुस मसान्तसम्म यतिको संख्यामा नयाँ बिरामी फेला परेका हुन् । रूपन्देहीमा हालसम्म नयाँ–पुराना गरी १ सय ७१ जना कुष्ठरोगका बिरामी उपचाररत छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आवमा १ सय ६० जना कुष्ठरोगका बिरामी रहेकामा यस वर्षको साउनयता ८० जना नयाँ बिरामी थपिएका हुन् । यस अवधिमा १ सय ७१ जना बिरामी उपचाररत रहेको र अन्य निको भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबाट कुष्ठरोग उन्मूलनको घोषणा भएको १५ वर्ष बितेको छ । २०६६ माघमा नेपालबाट कुष्ठरोग उन्मूलनको घोषणा गरिएको हो ।
उन्मूलनको घोषणाअनुरूप प्रति १० हजार जनसंख्यामा १ प्रतिशतभन्दा कम बिरामीको संख्या हुनु पर्नेमा रूपन्देही लगायत १८ वटा जिल्लामा यो रोगका बिरामी धेरै संख्यामा छन् ।
७२ औं विश्व कुष्ठरोग दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय रूपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जनचेतनामूलक एक कार्यक्रममा कुष्ठरोगको चेकजाँच तथा उपचार गर्नमा गरिने बेवास्ताका कारण कुष्ठरोगका नयाँ बिरामी फेला पर्ने गरेको जनाइएको छ ।
‘कुष्ठरोगको चेकजाँच तथा उपचार गर्नेतर्फ धेरैको कम चासो छ,’ जनस्वास्थ्य कार्यालय रूपन्देहीका वरिष्ठ क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले भने, ‘स्नायु प्रणालीमा असर पुर्याइ अंगभंग गराउने यो रोग समयमै उपचार तथा नियमित औषधि सेवन गरे पूर्ण रूपमा सञ्चो हुन्छ ।’
रूपन्देहीमा सबैभन्दा धेरै ओमसतिया गाउँपालिका, गैडहवा, मायादेवी गाउँपालिका, सैनामैना, देवदह र तिलोत्तमा नगरपालिकामा कुष्ठरोगका बिरामी छन् ।
पछिल्लो पटक शुद्धोधन, मायादेवी, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकामा धेरै नयाँ बिरामी फेला परेका छन् ।
कुष्ठरोगका बिरामी र बिरामीको सम्पर्कमा आएका व्यक्तिको खोजपड्ताल कार्यक्रमलाई प्रभावकारिताका साथ निरन्तरता दिइएको अधिकारीले बताए ।
प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुष्ठरोग अर्को व्यक्तिबाट सर्ने गरेको र समाजमा अझै पनि कुष्ठरोगका बिरामी खुलेर नआउँदा श्वास प्रश्वासको माध्यमबाट परिवार तथा अर्कोलाई सार्ने जोखिम बढ्दो रहेको कुष्ठरोग चिकित्सक स्वर्णिम ज्ञवालीले बताए ।
