निकुञ्जभित्र पाटेबाघ मृत फेला

माघ १२, २०८१

रुपा गहतराज

A tiger was found dead inside the park

बाँके — बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुम गोठेरीस्थित बाँके राष्ट्रिय निकुञ्जभित्र पाटेबाघ मृत अवस्थामा फेला परेको छ । निकुञ्जमा खटिएको गस्ती टोलीले शुक्रबार उक्त क्षेत्रमा पाटेबाघलाई मृत अवस्थामा फेला पारेको हो ।

निकुञ्जभित्र नियमित गस्ती गर्ने क्रममा उक्त बाघ मरेको अवस्थामा भेटिएका थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले पाटेबाघको मृत्यु प्राकृतिक रूपमा भएको जस्तो देखिएको बताए ।

मृतक भाले पाटेबाघको उमेर १२ देखि १३ वर्षको हुन सक्ने अनुमान गरिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का अनुसार गोठेरीस्थित घाँसे मैदानको छेउमा उक्त बाघ भेटिएको हो ।

मृतक बाघको शुक्रबार नै पोस्टमार्टम गरिएको अध्यक्ष खड्काले बताए । ‘बाघको शरीर हेर्दा करिब ३ तीन दिनअघि मरेको जस्तो देखिन्छ, शरीर हेर्दा बाघ आपसमा लडेर घाइते भई मरेको जस्तो देखिन्छ,’ उनले भने ‘सबै कुरा पोस्टमार्टम रिपोर्टपछि मात्र  खुल्छ  ।’

राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले पाटेबाघलाई कसैले मारेको नभएर आपसमा लडेर मरेको हुन सक्ने बताए । ‘मृतक बाघको शरीर हेर्दा तीन दिनअघि मरेको जस्तो देखिन्छ,’ उनले भने ।

बाघको पोस्टमार्टमका लागि बर्दिया राष्ट्रिय निकुञ्ज वटा चिकित्सक को टोली आएको थियो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully