तिलोत्तमा — गौतम बुद्धको मावली क्षेत्र देवहदमा बौद्ध गतिविधि र बुद्धकालीन पुरातात्त्विक क्षेत्रको सरसफाइ गरिने भएको छ । त्यसका लागि अभियान नै थालिने लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईको उपस्थितिमा शनिबार कोषको देवदह कार्यालयको आयोजनामा स्थानीय सरोकारवालासँगको छलफलले देवदहका ऐतिहासिक र बौद्धकालीन सम्पदाको संरक्षणमा स्थानीयको समेत सहभागिता र अपनत्व बढाउन अभियान थाल्नुपर्ने निष्कर्ष निकालेको हो ।
छलफलबाट देवदहमा क्रियाशील बुद्धसँग सम्बन्धित संघसंस्थाहरुसँग समन्वय गरी बृहत् भेला आयोजना गर्नका लागि टेकबहादुर थापाको संयोजकत्वमा सूर्यप्रसाद पाठक र टेकबहादुर राना सदस्य रहेको ३ सदस्यीय तदर्थ कमिटी बनाइएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।
उनका अनुसार छलफलबाट भवानीपुर र कन्यामाईमा विशेष सरसफाइ कार्यक्रम सञ्चालन गर्ने, हरेक पूर्णिमालाई विशेष अवसरका रुपमा मनाउनका लागि बृहत् भेलाबाट योजना बनाउने निर्णय भएको छ । त्यस्तै देवदह र रामग्रामबाट संचालित विद्युतीय बसको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीय टोल विकास संस्थासम्म सूचना पुर्याउने निर्णय भएको कोषका देवदह कार्यालय प्रमुख दामोदर सापकोटाले जानकारी दिए ।
