परासी — पश्चिम नवलपरासीको परासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाट चारपांग्रे सवारीसाधनको चालक अनुमति पत्र वितरण सुरु भएको छ ।
२०७८ सालमा स्थापना भएको यातायात सेवा कार्यालयबाट यसअघि दुईपांग्रे सवारीसाधनको सवारी अनुमति पत्र जारी र नवीकरण हुँदै आएको थियो ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका मन्त्री प्रचण्ड विक्रम न्यौपानेले चालक अनुमति पत्र वितरणको सुरुआत गरे । जिल्लामा नै चालक अनुमति पत्र वितरण सुरु भएपछि रुपन्देही जानुपर्ने बाध्यता हटेको छ ।
परासीमा रहेको यातायात कार्यालयबाट अहिलेसम्म ७ हजार दुईपांग्रे सवारी अनुमति चालक वितरण गरेको कार्यालय प्रमुख श्याम न्यौपानेले बताए । चालु आर्थिक वर्षको पुस महिनासम्म ९ करोड राजस्व संकलन भएको छ ।
