शुक्रबार जाहेरवालाका २ र प्रतिवादीका २ जनाको मात्र बहस
बुटवल — बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा शुक्रबारको थुनछेक बहस सकिएको छ । शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् । बहस जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जारी छ ।
जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार ४ जनाले मात्र बहस गरेको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर प्रतिवादीलाई परिवारको जिम्मा लगाउने आदेश भएको बताए । उनका अनुसार सुरुमा जाहेरवालाका तर्फबाट बहस भएको थियो । जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए । आरसी गौतमले रकम अपचलनमा प्रत्यक्ष संलग्नता देखिएको भन्दै रवि लामिछानेलाई थुनामै राख्नुपर्ने माग गरे । अधिवक्ता गौतमले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैंले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।
बहसमा गौतमले रविले कम्पनी खोल्न पाउने अधिकार प्रयोग गर्दै त्यसलाई गलत तरिकाले रंगरुपी अधिकार प्रयोग गरेकाले त्यो अनैतिक हुने पनि जिकिर गरेका थिए । यसअघि जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गरेका थिए ।
जाहेरवालाको बहस सकिएपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् । दुवैले अभियोग पत्रमा भएका तथ्यको प्रतिवाद गर्दै सहकारी ठगी र संगठित अपराधमा रविलाई मुद्दा चलाउनै नमिल्ने जिकिर गरेका थिए । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले आइतबार बहस गर्ने श्रेष्तेदार ज्ञवालीले बताए । त्यसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ ।
सहकारी ठगीको अनुसन्धानको सिलसिलामा कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा पुस २५ गते र काठमाडौं जिल्ला अदालतको आदेशले ६० लाख धरौटीमा माघ २ गते रिहा भएका थिए । माघ ६ गते आइताबर रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा जीबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोड बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख रुपैयाँ थप बिगो र रविको व्यक्तिगत तर्फ २ करोड बिगो दाबी गरिएको छ ।
