तिलोत्तमा — रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय जलदेवी मत्स्य सहकारी संस्थालाई डिफ्रिज सहयोग गरेको छ । तत्कालीन छपिया बजार (माछाको सुपर जोन)मा पाइने माछाको बजारीकरण र प्रवर्द्धनमा टेवा पुर्याउन भन्दै गाउँपालिका र प्रकोप व्यवस्थापन केन्द्र (सीडीएम) नेपालले संयुक्त रूपमा १८ वटा डिप फ्रिज सहयोग गरेका हुन् ।
छपियाको माछाले नेपालमै ख्याति कमाए पनि फ्रिज अभावका कारण बजारीकरणमा समस्या झेल्नु परेको गुनासोलाई सम्बोधन गर्नै पालिकाले फ्रिज हस्तान्त्रण गरिएको पालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
पालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट १० वटा फ्रिज उपलब्ध गराएको हो भने सिीडीएम नेपालले ८ वटा गरी ८ लाख रुपैयाँको १८ वटा फ्रिज हस्तान्तरण गरेको उनले बताए ।
फ्रिज उपलब्ध भएपछि सहकारीले माछाको बजारीकरणमा सहज हुने जनाएको छ । सहकारीका अध्यक्ष थम्मन पौडेलले उपलब्ध भएका फ्रिजलाई बुटवल, भैरहवा, पाल्पा र स्याङ्जाका विभिन्न स्थानमा पुर्याएर छपियाको माछा हरेक बजारमा उपलब्ध गराउन सकिने जनाए ।
भारतबाट आउने अवैध माछालाई रोक्न सरकारले सीमा सुरक्षाको निम्ति खटिएको प्रहरीलाई निर्देशन दिन सके सियारीको माछा देशभर नै बिक्री गर्न सकिने पौडेलको भनाइ छ ।
