दाङ — तुलसीपुरमा एक जना होटल व्यवसायीमाथि धारिलो हतियार प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीस्थित ड्रिम वाटर एण्ड लजका सञ्चालक द्रोण आचार्यमाथि मंगलबार राती हतियार प्रहार र कुटपिट भएको हो ।
तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्षसमेत रहेका आचार्यमाथि आफ्नै होटलमा दुई जना युवाले धारिलो हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घटनालगत्तै इप्रका तुलसीपुरका डीएसपी अनिल ठकुरीको कमान्डमा गएको प्रहरी टोलीले घटनामा संलग्न तुलसीपुर–९ बेलुवाका रमेश सापकोटा र तुलसीपुर–३ राम्रीका मुकुन्द सापकोटालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी ठकुरीले बताए ।
