धम्मयात्राका लागि निःशुल्क बस सेवा 

माघ ९, २०८१

नवीन पौडेल

Free bus service for Dhammayatra

परासी — भगवान गौतम बुद्धको अस्टधातु रहेको पश्चिम नवलपरासीको रामग्राम स्तुपदेखि लुम्बिनीसम्म बस सेवा संचालनमा आएको छ ।

लुम्बिनी सर्किट क्षेत्रलाई यातायातले जोड्ने कार्यक्रमअन्तर्गत लुम्बिनीदेखि रामग्राम स्तुपसम्म बस सेवा संचालनमा ल्याइएको हो ।

अब हप्ताको तीन दिन रामग्रामदेखि लुम्बिनीसम्म निःशुल्क रुपमा बस सेवा संचालन हुने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । लुम्बिनी हुँदै भैरहवा एयरपोर्ट, परासी भएर रामग्राम स्तुपसम्म सेवा संचालन हुनेछ । 

निःशुल्क रुपमा बस सेवा संचालनमा आएपछि लुम्बिनी आएका पर्यटक रामग्राम आउन र रामग्रामका पर्यटक लुम्बिनी जानका लागि सहज हुने आशा गरिएको छ । यसअघि पनि २०७९ असोज १३ मा यो बस सेवा संचालनमा आए पनि केही दिनमै बन्द भएको थियो । 

अहिले धम्मयात्रा लेखेर परीक्षणका रुपमा बस संचालनमा ल्याइएको हो । एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा लुम्बिनी विकास कोषलाई विद्युतीय बस प्राप्त भएको थियो । तर, अनुदान प्राप्त भएको ६ वर्ष हुन लाग्दासमेत यसको व्यवस्थित र दीर्घकालीन प्रयोग भने हुन सकेको थिएन ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully