पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा टिपर खस्दा चालक गम्भीर घाइते भएका छन् ।
बुटवलबाट पाल्पाको दोभानतर्फ आउँदै गरेको लु २ ख ३२०८ नम्बरको टिपर सिद्धबाबा क्षेत्रको छरछरे झरनाको भीरबाट खस्दा चालक मकवानपुर घर भएका २४ वर्षीय विजय पाख्रिन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । टिपर सडक छेउबाट खसेको जानकारी पाउनासाथ स्थानीय बासिन्दा र दोभान प्रहरी चौकीबाट गएका प्रहरीले घाइते चालक पाख्रिनको उद्धार गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेका थिए ।
घाइतेको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको टिपर व्यवसायी तथा दोभानका स्थानीय बासिन्दा तोया लम्सालले जानकारी दिए । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटना भएको क्षेत्रमा सडक साँघुरो र खाल्डाखुल्डी रहेको छ । यस क्षेत्रमा अत्यधिक दुर्घटना हुने गर्छ ।
