बसबाट खसेर एक महिलाको मृत्यु

माघ ८, २०८१

गगनशिला खड्का

गुल्मी — गुडिरहेको बसबाट खसेर गुल्मीको इश्मामा एक महिलाको मृत्यु भएको छ । मंगलबार बुटवलदेखि गुल्मीको अर्खाबाङ जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसबाट खसेर इश्मा गाउँपालिका-५ रातामाटा बस्ने ३९ वर्षीया शान्ति कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

प्रहरीका अनुसार तम्घास सिमलटारी सडक खण्डअन्तर्गत इश्मा-५, रोदीमा ओर्लन लागेकी उनको भाडाको विषयमा झगडा भएको थियो । त्यस क्रममा चलिरहेको बसमा झुन्डिँदा खसेर घाइते भएकी उनलाई गुल्मी अस्पतालमा उपचारका लागि पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक राजन भुजेलको नेतृत्वमा ९ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

गगनशिला खड्का खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully