जब्दीघाटमा छिट्टै पुल बन्ने मन्त्री दाहालको दाबी

माघ ७, २०८१

कमल पन्थी

बर्दिया — सात वर्षअघि हस्तान्तरण नहुँदै भासिएको जब्दीघाटस्थित बबई पुल बजेट सुनिश्चिता भएपछि निर्माण कार्य अघि बढ्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सोमबार भत्किएको पुल अनुगमनपछि नयाँ पुल बन्ने बताएका हुन् । 

काठमाडौं पुगेपछि प्राविधिक टोलीसँग छलफल गरेर पुल निर्माण प्रक्रिया अघि बढाउने उनले बताए । पुल निर्माणका लागि १ अर्ब १ करोडको लागतमा नयाँ पुल बन्ने छ । भत्किएको पुलदेखि उत्तर करिब ५ सय मिटर दूरीमा बन्ने छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल ०७४ साल साउन २८ गते भासिएको थियो । पुल भासिए पनि ०७९ साल असोज २० गते आएको बाढीले भासिएको पुलको स्ल्याब बगाएपछि हलुका सवारी साधन र पैदल आउजाउ बन्द भएको हो ।

डिभिजन सडक कार्यालयले बर्दियाको जब्दीघाटस्थित बबई नदीमा निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै भासिएको करिब ५ वर्षपछि ठेक्का तोडेको थियो । ०६८ सालमा पप्पु कन्स्ट्रक्सनले अघि निर्माण सुरु गरेको उक्त पुल १६ करोड ६८ लाखको लागतमा ०७४ सालमा सम्पन्न गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नयाँ बन्ने पुल तीन वर्षभित्र सम्पन्न हुने बताए । उक्त पुलको डिजाइन निर्माण व्यवसायीबाट हुने उनले जनाए । पुलको लम्बाइ ४ सय मिटर लामो हुने छ । सदरमुकाम गुलरियाको नेपाल-भारत सीमा रजनवादेखि बारबर्दिया नगरपालिकास्थित पूर्व-पश्चिम राजमार्ग जोड्ने रम्मापुर सडक कालोपत्र भएको दुई वर्ष बितिसक्यो । तर सडक निर्माण भए पनि पुल नहुँदा सर्वसाधरण सास्ती भोग्न बाध्य भएका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully