बुटवल — लुम्बिनी प्रदेशसभामा लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न विधेयक पेस भएको छ । सोमबार बसेको पाँचौँ अधिवेशनको चौथौ बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले विधेयक पेस गरेका हुन् ।
विधेयकमाथि मंगलबारको बैठकमा सैद्धान्तिक छलफल सुरु हुनेछ । लुम्बिनी प्रदेशभित्र ललितकलाको सम्भावना, त्यसको अध्ययन, संरक्षण र विकासका लागि विधेयकले सहयोग पुग्ने सरकारको विश्वास छ । विधेयकमा कलाकृतिहरूको सिर्जना तथा तिनको प्रदर्शन, कलाहरूको विविध विधाहरुमा अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने गरी विधेयक तयार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सोमबारको बैठकमा मन्त्री ढकालले प्रदेशसभा सदस्यहरूले विशेष समयमा उठाएका विषयवस्तुको जवाफ दिएका छन् । पाँचौँ अधिवेशनको पहिलोदेखि चौथो बैठकसम्मको विशेष समयमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यले प्रदेश सरकारले गत वर्षको योजनाहरुको काम भएको रकमसमेत भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायी र उपभोक्ता मर्कामा परेको बताएका थिए । गत वर्षकै भुक्तानी हुन नसक्दा चालु आर्थिक वर्षका अधिकांश योजनाको काम पनि अघि नबढेको सांसदहरूले जानकारी गराएका थिए ।
मन्त्री ढकालले त्यसको जवाफ दिँदै भौतिक पूर्वाधारसँग जोडिएका सबै आयोजनालाई जेठ मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिइएको बताए । त्यस्तै उनले प्रदेश सरकारका बहुवर्षे आयोजनामा विनियोजन भएको बजेट माघ १५ गतेपछि कार्यान्वयनमा लैजाने गरी तयारी भइरहेको जानकारी दिएका थिए । उनले १ गत वर्षको बाँकी भुक्तानीअन्तर्गत झन्डै १ अर्ब भुक्तानी भइसकेको र २३ करोड भुक्तानीको तयारी रहेको जानकारी गराएका थिए ।
