बर्दिया — गुलरिया नगरपालिका-५ वालापुरको ५ वटा टोलको भेलाले एक मूल बडघरसहित ६ बडघर चयन भएका छन् । शनिबार भएको गाउँलेको भेला र छलफलपछि सर्वसम्मत रूपमा कालीप्रसाद चौधरीको अध्यक्षतामा मूल बडघर चयन भएको हो ।
चौधरी गत वर्ष पनि मूल बडघर चयन भएका थिए । बडघर(अगुवा) बन्ने क्षमता जिम्मेवारी बहन गर्न आँट गर्न सक्ने मानिस नै हरेक वर्ष माघी पर्व सकिएलगत्तै चयन गर्ने गरिन्छ । समय दिन सक्ने र जिम्मेवारी बहन गर्न सक्नेले मात्र यो पद लिने गर्दे आएका छन् ।
यसैगरी बडघरमा बुद्धिराम चौधरी,जगुलाल चौधरी,दयाशंकर चौधरी,तिहारबहादुर चौधरी र सुल्फी चौधरी चयन भएको मूल बडघर कालीप्रसादले बताए । थारू समाजमा अगुवा प्रथा निकै पुरानो भए पनि निरन्तरता चलिरहेको छ । बडघर अगुवाबाहेक पूजाआजा गर्ने पुजारी,कुलोपानी चौधरी,फलाम पिट्ने,चौकीदार, सुरहवा,धामी, दुल्हा,दुल्ही बोक्ने र विवाह भोज आदिमा काम गर्ने चयन हुने गरेका छन् ।
माघ १ गते थारू समुदायको नयाँ वर्ष र पवित्र महिना भएका कारण विश्वासका आधारमा जनप्रतिनिधी चयन हुने गर्छन । गाउँमा छनौट हुने जनप्रतिनिधिको मुख्य मानिसलाई अगुवा भन्ने गर्छन् । बडघरले जन निर्वाचित प्रतिनिधिसँग सहकार्य गरेर प्रचलित कानुनमा रहेर गाउँ,घरका झैझगडा आपसी समझदारीमा समाधान गर्छन् । पञ्चायती व्यवस्थामा बडघरको महत्त्व धेरै हुन्थ्यो । त्यसबेला राजादेखि मन्त्री,कर्मचारीलगायत पञ्चले बडघरसँग सल्लाह गर्ने गरेको बारबर्दिया-२ का ६८ वर्षीय फक्ला थारुले सुनाए ।
