भैरहवा — नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रणका लागि सिद्धार्थनगर नगरपालिकाले अभियान सञ्चालन गरेको छ । छाडा चौपायाले सडकमा सवारी साधन र यात्रुलाई अवरोध गर्नुका साथै किसानको कृषि उपज खाइदिन थालेपछि छाडा चौपायाको व्यवस्थापन गर्न जरुरी भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।
‘विशेषगरी छाडा गाइगोरुले नगरमा बढी समस्या ल्याएको छ,’ थापाले भने, ‘छाडा गाईगोरुका कारण सडक दुर्घटनाको जोखिमको साथै मलमुत्रले नगर दुर्गन्ध र किसानले आफ्नो कृषि उपज खाइदिने गरेको गुनासो गर्ने गरेका छन् ।’
छाडा चौपाया नियन्त्रणका लागि नगरपालिकाले यस वर्ष शनिबारदेखि व्यवस्थापन अभियान सञ्चालन गरेको हो । अभियान सञ्चालन गरेको दुई दिनमै नगरबाट झन्डै पाँच दर्जन छाडा गाइगोरु नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएको गाइगोरु कसैले आफ्नो भनी दाबी गर्न आएमा न्यूनतम ७ हजार जरिवाना तिराएर दिइने अन्यथा नियन्त्रणमा लिइएका गाईगोरुलाई कपिलवस्तुको जंगलमा छाडेर व्यवस्थापन गर्ने तयारी नगरपालिकाले गरेको छ ।
सिद्धार्थनगरमा बर्सेनि छाडा गाईगोरुको समस्या विकराल बन्ने गरको छ । गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउन बजारमा छाडिदिने, दूध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने र केही किसानले दिनभरि बजारका फलफूल, तरकारी पुलआसपास छाडी रातपरेपछि घर लैजाने प्रचलनले नगरमा छाडा गाईगोरुको समस्या बर्सेनि दोहोरिने गरेको हो ।
नगर प्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थनगरमा छाडा गाईगोरु तथा चौपाया नियन्त्रणका लागि लगातार तेस्रो वर्षसम्म अभियान सञ्चालन गरेको बताए ।
