लुम्बिनी प्रदेशसभा : आर्थिक कार्यविधि विधेयकमाथि छलफल

माघ ६, २०८१

वीरेन्द्र केसी

Lumbini State Assembly: Discussion on the Financial Procedure Bill

देउखुरी — लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको आइतबारको तेस्रो बैठकमा लुम्बिनी प्रदेशसभामा पेस भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

छलफलमा तीनजना प्रदेशसभा सदस्यले भाग लिएका छन् । प्रदेशसभा सदस्य निमा गिरीले आर्थिक स्थायित्व कायम गर्न विधेयकले दिशा प्रदान गर्ने बताइन् । योजना तथा बजेट निर्माण गर्दा प्रदेशसभा सदस्यको भूमिका बढाउनुपर्ने उनको भनाइ छ । ‘योजना निर्माणमा प्रदेशसभा सदस्यलाई जोड्न जरुरी छ’, उनले भनिन्,‘बजेट माथिको सैद्धान्तिक छलफलको समय एक महिना राखिनुपर्छ । विधेयकमा १५ दिन कायम गरिएको छ । प्रदेश आयोजना बैंकलाई प्रभावकारी बनाउने गरी विधेयकले समेट्नुपर्छ ।’

प्रदेशसभा सदस्य इन्द्रजीत थारुले प्रदेशको आर्थिक तथा वित्तीय अधिकारलाई कार्यान्वयन गर्ने गरी विधेयक आएको बताए ।‘योजना र बजेट निर्माणलाई प्रभावकारी बनाउन जरुरी छ । राजस्वको अनुमान र खर्चको अनुमान मिल्यो कि मिलेन भन्ने विषयमा समीक्षा गर्न जरुरी छ’, उनले भने,‘अहिलेसम्म राजस्व र खर्चको अनुमान मिलेका देखिँदैन।’ घाटा पूर्ति गर्ने स्रोत सुनिश्चित गरेर मात्रै बजेट ल्याउन उनले सुझाव दिए । 

प्रदेशसभा सदस्य विष्णु पन्थीले बजेट निर्माणलाई व्यवस्थित गर्नुपर्ने बताए । ‘बजेट बनाउँदा एकखाले अराजकता छ । त्यसलाई तोड्न जरुरी छ’, उनले भने,‘प्रदेशसभा सदस्यलाई बढी जिम्मेवार बनाएर बजेट ल्याउँदा त्यसको कार्यान्वयन पक्ष बलियो हुन्छ ।’

बैठकमा विशेष समयमा भौतिक पूर्वधार विकास समितिका सभापति रामजीप्रसाद घिमिरेसहित छ जना प्रदेशसभा सदस्यले सम्बोधन गरेका थिए । प्रदेश सरकारले दायित्व भुक्तानीलाई छिटो गर्नुपर्ने, छाडा पशु चौपायाको समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने, विद्यालयमा विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेर अंगभंग गराएका लगायत समसामयिक विषय उठान गरेका थिए । 

 पाँचौं अधिवेशनको चौथो बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

वीरेन्द्र केसी

Link copied successfully