दाङ — घोराहीमा शनिबारदेखि प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला सुरु भएको छ।
नेपाल मगर संघ घोराही उपमहानगरपालिका समितिले आयोजना गरेको मेला उद्घाटनका अवसरमा विभिन्न झाँकीसहित बजार परिक्रमा गरिएको थियो ।
मेलाको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्थानीय भाषा, संस्कृति र कलाको संरक्षण गर्न मेला र प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । स्थानीय सरकारले पनि मातृ भाषामा पाठ्यक्रम निर्माण गरी पठनपाठन सन्चालन गरिरहेको उनले बताए ।
माघ ११ गतेसम्म सन्चालन हुने मेलामा मगरलगायत विभिन्न जातजातिका भेषभूषा, कला, संस्कार, संस्कृति र खाना प्रदर्शन गरिने मगर संघका नगर अध्यक्ष वेदु बुढामगरले जानकारी दिए ।
