परासी — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ६ ले वडाका अति विपन्न, वृद्ध अपांग तथा असहायलाई न्यानो कपडा र कम्मल वितरण गरेको छ । वडामा रहेका मुसहर बस्ती तथा ज्येष्ठ नागरिक, अपांगता भएका गरी ४ सयभन्दा बढी नागरिकलाई कम्मल वितरण गरिएको पालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
केही दिनदेखि घाम नलागेको र हुस्सु बढी लागेकाले विपन्नलाई लक्ष्य गरी वडा कार्यालयको व्यवस्थापनमा राहत स्वरुप कम्मल वितरण गरिएको हो ।
जिल्लामा शीतलहर र बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । जाडोबाट बच्न स्थानीय सरकारले आगो ताप्न चोकचोकमा दाउरा र न्यानो कपडा बाँडिरहेका छ्न् ।
