पाल्पा — निस्दी गाउँपालिका–४, मित्यालका वडाध्यक्ष सन्तबिर सुनारी सोमबार दिनभर मासुको जोहो गर्न व्यस्त बने । घरमा सुनारीको श्रीमती बारा अर्थात् बटुक पकाउनमा निकै व्यस्तता थियो । माघे संक्रान्तिका खानपिनका लागि घरपरिवार नै जुटेका हुन् । उनका अनुसार मगर समुदायमा माघे संक्रान्ति चाड विशेष तरिकाले मनाउने गरिन्छ । ‘आफन्तको भेटघाट, छोरी चेली खुवाउने चलन हुन्छ,’ उनले भने, ‘त्यसैले हामी परिवार नै व्यस्त छौं। ’
निस्दी गाउँपालिका–६, अर्चलेकी मिमश्री बयम्बु मगर पनि बिहानैदेखि बारा अर्थात् बटुक बनाउन व्यस्त भइन् । माघे संक्रान्ति पर्वका लागि तरुल, सखरखण्ड खन्ने पनि हतारो नै थियो । ‘हाम्रो विशेष चाड भएकाले यसैको तयारीमै छु,’ उनले भनिन्, ‘त्यसैले गाउँका सबै जना दिनभर नै व्यस्त भएका छौं ।’ सुनारी र बयम्बु मगर मात्र होइन मगर समुदायको बाहुल यहाँका मगर समुदाय माघे संक्रान्ति पर्व मनाउन विशेष तयारी गरेका छन् ।
उनीहरूले यस पर्वमा तरुल, भ्याकुर र माछामासु खाने गर्छन् । साथै मासको दाल भात र नून एकै ठाउँमा पकाई खिचडी बनाउने गरिन्छ । त्यही खिचडीको पिण्ड पितृलाई दिने गरिन्छ । मगर समुदायले छोरी, चेलीबेटी र इष्टमित्रहरूलाई बोलाउने र मीठोचोखो खाने परम्परा रहेको गल्धाका धनबहादुर खण्डलुक मगरले बताए । पुसको अन्तिम सातामा तरुल, सखरखण्ड, पिंडालुलगायत कन्दमूल खन्ने गरिन्छ । अन्तिम दिन राति त्यसलाई उसिन्ने प्रचलन छ । माघ १ मा एकै ठाउँमा भेला भएर मगरको विशेष खानाका परिकार खाने प्रचलन रहेको उनले बताए ।
पाल्पाका मगर समुदायमा माघे संक्रान्तिमा छिमेकी आफन्ती भेट भएर सोरठी, कौडा, मारुनी, झाम्रे नाच्ने प्रचलन छ । ठाउँ अनुसार तीन/चार दिनसम्म मनाउने प्रचलन छ । माघे संक्रान्ति मगर जातिको उत्पादन प्रक्रिया, आर्थिक जीवन एवं सांस्कृतिक जीवनमा सर्वाधिक महत्व राख्ने पर्व भएको नेपाल मगर संघ पाल्पाकी अध्यक्ष शान्ति थापा झेडीले बताइन् । मगर समुदायको संस्कार संस्कृति बचाउन चेलीबेटीलाई खुवाउने, सकेको दान दिने समेत प्रचलन रहेको उनले बताइन् ।
माघे संक्रान्तिमा घरमा आउने पाहुनालाई तरुल, मासु, बटुक खुवाउने प्रचलन छ । यसका लागि उनको तयारी सातादेखि नै हुने गर्छ । धेरै भएको वन तथा घर तरुल बजारमा पठाउने र बिक्रीको पैसाले माघे संक्रान्ति मनाउने प्रचलन रहेको निस्दी, अर्चलेका लालबहादुर बयम्बुले बताए । यही सिजनमा घर तथा वनतरुल खन्ने गरिन्छ ।
यहाँका मगर समुदाय खानपानमा मात्र होइन, कला संस्कृति प्रस्तुत गर्ने प्रचलन रहेको अर्चलेका देव बहादुर बयम्बुले बताए । तराईमा थारुको माघी जस्तै पहाडमा यस जिल्लाका पूर्व र मध्यका मगर समुदायले संक्रान्ति पर्व बढी मनाउने गर्छन् । कला र संस्कृति प्रदर्शन गर्ने बटुक, तरुल, नाम्या, सुँगुरको मासु खाने पर्व माघे संक्रान्ति भएको उनले बताए ।
यस भेगमा जेठी, माहिली र कान्छी संक्रान्तिसम्म नाचगान, भेटघाट, रमाइलो गरेर मनाउने गरिन्छ । जिल्लाका सबै मगर बस्तीमा सोमबारदेखि नै विशेष रौनक सुरु भएको छ । विभिन्न स्थानमा मेला लगाउने गरिन्छ । यस पर्वलाई मगर समुदायले सबैभन्दा ठूलो चाडका रूपमा मनाउने गरेको मगर संघकी अध्यक्ष झेडीले बताइन् । मगर समुदायले यस पर्वको अवसरमा आफ्नो संस्कृति र परम्परालाई जोगाउने पर्वका रूपमा समेत लिने गर्छन् ।
