सिद्धबाबा सुरुङमार्गको माघ ११ मा ‘ब्रेक थ्रु सेरेमोनी’

११२६ मिटर खन्ने भनिए पनि मुख्य सुरुङ १०८९ मिटरमै जोडिने

माघ १, २०८१

माधव अर्याल

'Break Through Ceremony' of Siddha Baba Tunnel on January 11

पाल्पा — माघ ८ गतेलाई तय भएको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु सेरेमोनी’ माघ ११ गते हुने भएको छ । यसअघि माघ २ गतेलाई ‘ब्रेक थ्रु सेरेमोनी’ गर्ने भनिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको समय माघ ११ गतेलाई मिलाएर ‘ब्रेक थ्रु सेरेमोनी’ कार्यक्रम राखिएको हो । 

सुरुङ खन्ने वा ठूला निर्माणको क्षेत्रमा ‘ब्रेक थ्रु’ लाई सेरेमोनीका रूपमा मनाइने भएकाले विशेष कार्यक्रम राखिएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए । उनका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट माघ ११ गतेलाई समय मिलाएको जानकारी पाइएको छ । सोहीअनुसारको तयारी भइरहेको उनले बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आफूलाई प्रधानमन्त्रीको सचिवालयबाट माघ ८ गते हुने कार्यक्रमलाई ११ गतेलाई गर्ने भन्ने जानकारी आएको बताए । ‘पहिले माघ ८ गतेलाई कार्यक्रम राख्ने भन्ने थियो,’ उनले भने, ‘पुनः सचिवालयबाट ११ गतेलाई कार्यक्रम राख्ने भन्ने आएको छ ।’ 

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग खनेर सक्न अब एक दशमलव ५ मिटर मात्र बाँकी राखेको छ । एघार सय सय २६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग एक हजार ८९ मिटर मात्रै भएको छ । जसमध्ये ‘ब्रेक थ्रु’का लागि १ दशमलव ५ मिटर बाँकी राखेर एक हजार ८७.५ मिटर सुरुङ खनेर सकिएको छ । 

दक्षिणतर्फ ६ सय ८ र उत्तरतर्फ ४ सय ७९.५ मिटर सुरुङ खनिएको छ । ब्रेक थ्रु सेरेमोनी गर्ने दिनमा साढे एक मिटर भागलाई ब्लास्ट गरिनेछ । यसअघि नै तीन वटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ । बाइपास एक १ सय ५१, दुई १ सय ६१ र तीन १ सय ३० मिटर टनेल रहेको छ । सोही दिन प्रधानमन्त्री ओलीबाट बुटवल–गोरुसिङ्गे सडक शिलान्यास गर्ने कार्यक्रम छ । 

मुख्य टनेल ब्रेक थ्रु गरेपछि सुरुङभित्रको भुईँ र भित्तामा लाइनिङ गर्ने कामलाई तीव्रता दिइने छ । गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलानको काम अघि बढेको छ । त्यसपछि विद्युतीकरण, भेन्टिलेसन, नालीलगायतका कामलाई गति दिइने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले बताइन् । सुरुङमार्गको भौतिक प्रगति ३९.४९ प्रतिशत र वित्तीय प्रगति ३९.९ प्रतिशत भएको उनले बताइन् । 

सिद्धबाबा क्षेत्रमा अहिलेको सडकमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्ग मिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्ग मिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । अहिले चालु सडकमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully