गुल्मी — गुल्मीबाट माघे संक्रान्ति स्नानका लागि प्यूठानको गौमुखी जाँदै गरेका श्रद्धालु भक्तजन चढेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
जिल्लाको मालिका गाउँपालिका–८ बाट प्यूठानको गौमुखी तीर्थस्थल हिँडेका यात्रु सवार ग१ज ४५३३ नम्बरको जिप मदाने–१ अग्लुङ्गमा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा मालिका–८ की पवित्रा जीसी, विपीन जीसी, सीता बोहरा, सुगम बोहरा, सुशील खत्री, भरत सुनार, फत्तबहादुर खत्री, माया पाठक, कमला खत्री, पवित्रा खत्री, श्यामे खत्री, मदाने–१ की मुसी खत्री र चालक मालिका–८ का कृष्णबहादुर खत्री घाइते भएको मदाने–१ का वडाध्यक्ष सुशील चन्दले जानकारी दिए ।
घाइतेमध्ये पवित्रा जीसी, विपीन जीसी र सीता बोहराको जिल्ला अस्पताल तम्घासमा र अन्यको पुर्कोट दह स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भूपेन्द्र थापाले बताए ।
डबल क्याब गाडीमा १४ जना चढेको र सामान्य उकालो बाटोमा गाडी कान्लोमुनि खसेको वडाध्यक्ष चन्दले बताए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भूपेन्द्र थापाको भनाइ छ ।
