दाङ — जन्मदिन होस् या बाआमाको वार्षिक तिथि । कुनै पनि स्मरणीय दिनमा यहाँका प्रायजसो मानिस घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित वृद्धाश्रममा पुग्छन् । परिवारको संरक्षण नपाएका १७ जना वृद्धवृद्धा आश्रममा रहेका छन् ।
यो संख्या घटबढ भइरहन्छ । कसैको त्यहीं मृत्यु हुन्छ त कोही नयाँ थपिन्छन् । मृत्यु संस्कारसमेत वृद्धाश्रमले नै गरिदिन्छ । घर–परिवारमा बालबालिकालाई जति माया हुन्छ, त्यति वृद्धवृद्धालाई नहुँदा बुढेसकाल कष्टकर हुने गरेको छ ।
घोराहीका सक्रिय ज्येष्ठ नागरिकको सक्रियतामा २०६२ सालमा ज्येष्ठ नागरिक सरोकार केन्द्र गठन भएको थियो । उक्त केन्द्रले नै हालसम्म वृद्धाश्रम सञ्चालन गरिरहेको छ । समाजसेवी खगराज लोहनीले प्रदान गरेको जग्गामा वृद्धाश्रम संचालित छ ।
परिवार, समाज र राज्यले ज्येष्ठ नागरिकलाई उचित सम्मान र संरक्षण गर्न नसकेको ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भूपाल गिरीले बताए । ‘ज्येष्ठ नगारिकलाई बोझका रूपमा लिने प्रवृत्ति बढ्दै गएको छ । बालबालिकालाई जस्तै ज्येष्ठ नागरिकलाई पनि स्याहार र संरक्षण चाहिन्छ,’ उनले भने, ‘परिवार र समाज ज्येष्ठ नागरिकप्रति जिम्मेवार नहुँदा वृद्धाश्रमको सहारा लिनुपरेको छ । वृद्धवृद्धा सडकमा अलपत्र पर्न त दिनुभएन नि !’
हरेक घर–परिवारले आफ्ना सन्तानलाई वृद्धवृद्धाको सम्मान र स्याहारबारे उचित मार्गदर्शन र शिक्षा दिन आवश्यक रहेको उनले बताए । ‘हुर्कंदै गरेका बालबालिकालाई ज्येष्ठ नागरिकप्रतिको दायित्वबारे सिकाउन आवश्यक छ,’ उनले भने, ‘सम्पन्न परिवारका वृद्धवृद्धा पनि अलपत्र परेका छन् । सबैलाई आफ्नै कामको ध्यान छ, बुढाबुढीलाई हेर्ने कोही छैन ।’
घर–परिवार मात्रै होइन, सार्वजनिक यातायात, अस्पताल, सरकारी कार्यालयलगायत सबैजसो सेवा लिने ठाउँमा पनि वृद्धवृद्धालाई उचित सम्मान र सहुलियत नभएको उनले गुनासो गरे ।
ज्येष्ठ नागरिक अनुभव र ज्ञानको भण्डार भएकाले उनीहरूबाट नयाँ पुस्ताले सिक्नुपर्ने गिरीले बताए । ‘परिवारका ज्येष्ठ सदस्यबाट नयाँ पुस्ताले धेरै ज्ञान सिक्न सक्छ । ज्ञानको भण्डार भएको पुस्तालाई तिरस्कार गर्ने होइन,’ उनले भने, ‘अहिले वृद्धाश्रममा आउने वृद्धवृद्धालाई विभिन्न सहयोग गर्ने, उनीहरूसँग छलफल, अन्तर्क्रिया गर्ने जस्ता कामहरू पनि हुन थालेका छन् । यो हरेक घरमै हुन आवश्यक छ ।’
विभिन्न अवसर पारी सहयोगी मानिस वृद्धाश्रम पुगेर सहयोग गर्छन् । कतिपयले अक्षयकोष स्थापना गरेका छन् । त्यसको ब्याज र सहयोगबाट वृद्धाश्रम सञ्चालन भइरहेको अध्यक्ष गिरीले बताए । ‘कसैलाई दान, धर्म गर्न मन लाग्यो भने वृद्धाश्रम जानुपर्छ भन्ने भावना विकास हुँदै गइरहेको छ,’ उनले भने, ‘यसबाट वृद्धवृद्धाप्रतिको सम्मान भाव बढ्नुका साथै वृद्धाश्रम सञ्चालन गर्न सहज भएको छ ।’
बुवा नारायणप्रसाद पोख्रेलको ४५ औं दिनको तिथि पारेर तुलसीपुरका मदन पोख्रेल र तुलसा पोख्रेलले वृद्धाश्रममा पुगेर वृद्धवृद्धालाई न्याना कपडा र फलफूल वितरण गरे । बुवाको स्मृतिमा वृद्धवृद्धालाई सहयोग गर्न पाउँदा मनमा शान्ति महसुस भएको छोरा मदनले बताए । ‘संस्कार अनुसार पितृको श्राद्ध मात्रै गर्नुभन्दा जीवित वृद्धवृद्धालाई पनि सहयोग गर्दा हाम्रो मनले शान्ति पायो,’ उनले भने, ‘यो वृद्धवृद्धाप्रतिको सम्मान र सेवाभाव हो । परिवार र समाजमा वृद्धवृद्धालाई संरक्षण गर्ने वातावरण बन्नुपर्छ ।’ कोही नहुनेको आश्रयस्थल वृद्धाश्रम भएको पाउँदा मनमा सन्तोष मिलेको बुहारी तुलसाले बताइन् । ‘धेरै वृद्धवृद्धा असहाय र अलपत्र छन् । परिवारले कर्तव्य भुलिरहेका छन्,’ उनले भनिन्, ‘यस्तो बेला वृद्धाश्रम सञ्चालन गरेर वृद्धवृद्धाको सेवा गर्नु ठूलो धर्म हो ।’
घरपरिवारले बेवास्ता गरेपछि वृद्धाश्रममा पुगेका वृद्धवृद्धा आफूजस्तै साथीहरू भेटेपछि चित्त बुझाएर बसिरहेका छन् । घोराही–४ की ७२ वर्षीया सुशीला घर्ती वृद्धाश्रमकी सबैभन्दा पुरानी आश्रित हुन् । घर–परिवारमा संरक्षण नपाएपछि वृद्धाश्रम पुगेकी घर्ती अहिले आश्रममा पुगेका सबैलाई सम्झाइबुझाइ गर्छिन् । ‘भर्खरै आएकाहरू चिन्ता गर्छन् । मनमा अनेकथरी कुरा खेलाएर बस्छन् । उनीहरूलाई सम्झाएर शान्त पार्नुपर्छ,’ घर्तीले भनिन्, ‘सजिलै मर्न सकिँदैन । सास रहँदासम्म कतै न कतै आश्रय लिनैपर्यो । वृद्धाश्रममा हामीजस्तै असहाय आइरहने भएकाले सबैले आपसमा दुःख बाँडेर बस्न सजिलो भएको छ ।’
घोराही–११ बाँसगजेरीका ८६ वर्षीय दुर्गाप्रसाद पाण्डे पनि सबै सम्पत्ति श्रीमती र छोराहरूको नाममा बनाएपछि घरबाट तिरस्कारमा परे । मुत्रथैलीको बिरामी भएर थलिएका पाण्डेलाई हेर्ने कोही भएन । त्यसपछि उनी पनि ६ वर्षअघि वृद्धाश्रममा पुगे । घोराही–१८ मसिनाकी ६० वर्षीया लालकुमारी पुरीका श्रीमान् अर्को विवाह गरेर भारततिर पसे । छोराबुहारीले सहन सकेनन् । त्यसपछि उनी पनि वृद्धाश्रममा पुगिन् । रुकुमकी वसन्ती शाह, डोल्पाकी मीना शाही, रोल्पाका लालबहादुर दमौसी, रामकली दमौसी, घोराहीका तुलाबहादुर भण्डारी, भूमा केसी, श्रीधर सुनार लगायतका वृद्धावृद्धाहरू एकै ठाउँमा बसेका छन् । उनीहरू दुःखसुखका कुरा गर्छन्, भजनकीर्तन गर्छन् र समय बिताउँछन् ।
‘अब हाम्रो घरपरिवार, जे भने पनि वृद्धाश्रम नै भयो । हामी एकैखालका साथी भेट भएका छौं,’ डोल्पाकी मीना शाहीले भनिन्, ‘उमेरमा गरेका काम सम्झन्छौं । दुःखसुख बाँड्छौं, भजन गाएर मन भुलाउँछौं । जति दिन बाँचिन्छ, यसैगरी बस्छौं ।’ कोही नहुनेको भगवान् हुन्छ भनेझै वृद्धाश्रम भगवानको घर जस्तो महसुस भइरहेको घोराहीका तुलाबहादुर भण्डारीले बताए । ‘अब हामी भगवानको शरणमा छौं । जे जस्तो हुन्छ सहन्छौं,’ उनले भने, ‘घरमा जाने अवस्था छैन । मरे पनि बाँचे पनि अब हाम्रो सहारा वृद्धाश्रम नै हो ।’
राष्ट्रिय जनगणना २०७८ अनुसार देशमा ६० वर्षमाथिका पुरुष १४ लाख ४३ हजार ९ सय ७ र महिला १५ लाख ३३ हजार ४ सय ११ गरी जम्मा २९ लाख ७७ हजार ३ सय १८ ज्येष्ठ नागरिक छन् । ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ दफा ४ मा ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हुने उल्लेख छ । उपदफा ३ मा कसैले ज्येष्ठ नागरिकको इच्छा विपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउन नहुने प्रावधान छ । उपदफा ५ मा ज्येष्ठ नागरिकको चलअचल सम्पत्ति प्रयोग या उपयोग गर्ने परिवारको कुनै सदस्या, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।
ऐनको दफा २६ मा परिवारका सदस्यले कर्तव्य पालना नगरेमा ३ लाख रुपैयाँसम्म जरिवाना तथा परिवारबाट अलग गरेमा तीन महिनासम्म कैद वा १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेमा थप ३० प्रतिशत सजाय हुने व्यवस्था छ । ऐनमा ज्येष्ठ नागरिकको हेरविचार, स्याहारसुसार तथा सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा ज्येष्ठ नागरिक समिति गठन गर्ने प्रावधान छ ।
घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित वृद्धाश्रम र वृद्धाश्रममा रहेका वृद्धवृद्धा । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर
