प्रेम सरको उब्रेको समय ‘उध्रेको टेलर्स’मा

‘नयाँ लुगा सिलाउने पसल जति पनि छन्,’समाजशास्त्रमा स्नातकोत्तर गरेका प्रेम परियार भन्छन्, ‘पुराना भए पनि फ्याँक्न मन नलागेका, बनाएर लगाउने इच्छा भएका मानिसले राम्रो कामको सुरुवात गर्नुभयो भन्दै कपडा लिएर आउने गरेका छन् ।’

पुस २८, २०८१

सन्जु पौडेल

Prem Sir's time in 'Udhreko Tailors'

लुम्बिनी — समाजशास्त्रमा स्नातकोत्तरसँगसँगै कानुनमा स्नातक गरिरहेका गुल्मीको कालीगण्डकी–५ फोक्सिङ लिथुङका २९ वर्षीय प्रेम परियार मावि तहका सामाजिक शिक्षक हुन् । तिलोत्तमा–३, योगीकुटीमा उनले ‘उध्रेको टेलर्स’ पसल खोलेका छन् । बिहान/बेलुका उध्रे-फाटेका कपडालाई जोडजाड पार्ने, टालो हालेर प्रयोगयोग्य तुल्याउने काम गर्छन् । दिनभरि भने विद्यालयमा पढाउँछन् ।

अध्ययनका सिलसिलामा १० वर्षअघि बुटवल झरेका उनले २०७३ सालमा अध्ययनसँगै चारवर्षे सिलाइबुनाइ तालिम लिएर बुटवल–११ मा आफ्नै व्यवसाय सञ्चालन गरेका थिए । त्यतिबेला बुबाआमालाई पनि बुटवल नै बोलाए । बुबाले पनि गाउँको परम्परागत सिलाइबुनाइको काम छोडेर कान्छो छोरा प्रेमलाई सघाए । तर सिलाइबुनाइको काम सोचेअनुरूप हुन सकेन । त्यसै बेला कोरोना महामारी चल्यो । 

प्रेमलाई पाँच लाखभन्दा माथिको ऋणको भार पर्‍यो । त्यसपछि चिन्तित प्रेमले विदेशिने निर्णय गरे । आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं गए । लामो समयसम्म पनि कुनै मुलुकको भिसा लागेन । काठमाडौंमै स्नातकोत्तरमा भर्ना गरिसकेका उनी त्यसपछि बुटवल नै फर्किए । ‘मलाई भाग्यले पुर्ख्यौली पेसा नै गर् भनेर बुटवल पठायो,’ उनले भने, ‘फर्केर आएँ, बुबाआमालाई गाउँमा राखेको छु, यहाँ मैले फेरि सिलाइबुनाइको काम थालेको छु ।’ तर यसपटक भने उनले केही फरक गर्न खोजेका छन् । उनी अहिले नयाँ कपडा सिलाउँदैनन् । उध्रे-फाटेका कपडा जोडजाड र टालो हालेर प्रयोगयोग्य तुल्याउने काम गरिरहेका छन् । 

‘यस पसलमा म नितान्त उध्रेको र च्यातिएका लुगा, झोला, जाडोमा ज्याकेट, कोट मर्मत गर्छु,’ प्रेमले भने, ‘कामको सकारात्मक प्रतिक्रिया पाइरहेको छु ।’ उमेरले बुबाआमाकै काखमा बसेर पढ्ने, पढेकै जागिर गर्ने वा साथीभाइजस्तै विदेश गएर कमाउने आशा उनको पनि नभएको होइन । प्रेमले बाउबाजेकै सिलाइ पेसालाई फरक ढंगले सञ्चालन गर्ने गरी व्यवसाय थालेको बताए । ‘नयाँ लुगा सिलाउने पसल जति पनि छन्,’ उनले भने, ‘पुराना भए पनि फ्याँक्न मन नलागेका, बनाएर लगाउने इच्छा भएका मानिसले राम्रो कामको सुरुवात गर्नुभयो भन्दै कपडा लिएर आउने गरेका छन् ।’

प्रेमले यो व्यवसायबारे आफ्ना शिक्षक साथी, कलेजका साथी, मानिसका घरघरमा गएर प्रचार गर्ने गरेका छन् । ‘सबै जनाले नाम देखेरै रमाइलो मान्नुहुन्छ,’ उनले थपे, ‘सानैमा घरमै देखेर बुबाले अह्राएर सिकेको काम लाग्यो ।’ उनी यो पेसा बाँकी जीवनको यात्रा चाल्ने माध्यम भएको बताउँछन् । 

‘जीवनमा हन्डर, चोट र बाध्यताले धेरै सिकाउँदो रहेछ,’ प्रेमले भने, ‘मलाई कमाइको बाटो चाहिएको थियो, विदेश जाने सपना टुट्यो र सुरु भयो उध्रेको टेलर्स ।’ बिहानै उध्रेका लुगा सिलाएमा दिनैभरि कमाइ राम्रो नहुने भन्ने सूचीकारको सोच परिवर्तनका लागि बिहान र साँझ नै काम गर्ने गरी पनि यो व्यवसाय थालेका हुन् ।

‘काम गर्न पनि समय कुर्ने कुरा हुन्छ ? यसले रोजगार र सेवा लिने पक्ष दुवैलाई बेफाइदा गर्छ नि !’ उनले भने । काम गर्न पनि शुभ वा अशुभ हुने, कमाइ बढ्ने, नबढ्ने हुने भन्नु गलत भएको भन्दै परियारले यो कुरा सूचीकारले आफैं बनाएर विकृति फैलाइरहेको जनाए ।

केही समय उनले आफ्नै गाउँपालिकामा कृषि संयोजकका रूपमा करार सेवामा काम गरे । हाल आफ्नो पढाइ र पढाउने कामदेखि बाँकी रहेको समय उध्रेको लुगा सिलाउन खर्चिएका छन् । उनको कामलाई उनकी भान्जीले पनि साथ दिएकी छन् ।

पुर्ख्यौली पेसाका रूपमा सिकेको ज्ञान, सीपलाई प्रेमले आधुनिक र प्रतिष्ठित तरिकाले आय आर्जनसँग जोडेका छन् । न्यूनतम १० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म सर्ट, पाइन्ट, कोट उध्रेमा सिलाएको ज्याला लिने प्रेमले बताए । उध्रेको सिलाएर मात्र टेलर्स चल्छ वा बन्द हुने हो ? प्रेमलाई ठूलो चुनौती छ । फरक काम फरक तरिकाले गर्दा आउने चुनौतीलाई आफूले स्वीकार गरेको प्रेमले बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully