सुत्केरी महिलालाई कुखुराका भाले र हर्लिक्स वितरण

पुस २८, २०८१

मनोज पौडेल

Distribution of chicken cocks and horlicks to pregnant women

कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिका–३ र ५ मा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समूहले  सुत्केरी महिलालाई लोकल कुखुराका भाले र हर्लिक्स वितरण गरेको छ ।

आइतबार रहतकोलमा आयोजना गरेको अति वृद्ध, अपांग, दृष्टिविहीन, सुत्केरी महिला, युवा क्लब र प्रहरीलाई सामग्री वितरण कार्यक्रममा २२ जना सुत्केरी महिलालाई कुखुराका भाले र हर्लिक्स वितरण गरिएको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत यहाँका ८० वर्षमाथिका ३० जना वृद्धवृद्धालाई पनि सम्मान  गरिएको छ।

७ सय ४७ घरधुरी रहेको सो वनको काठ र दाउरा बिक्रीबाट आएको आम्दानीबाट ३० जनालाई हिँड्न सहज सहज होस् भन्दै एउटा लौरो, न्यानो फाइबर सिरक वितरण गरिएको थियो । त्यस्तै २२ जना सुत्केरी महिलालाई लोकल कुखुराका भाले र हर्लिक्स वितरण गरिएको छ । ८ जना अपांगलाई फाइबर सिरक र दुई युवा क्लबलाई खेल सामग्री वितरण गरिएको छ ।

जनजागृति युवा क्लब र डंगुरिया सांस्कृतिक युवा क्लबलाई दुईवटा फुटबल, ११ थान खेलका ड्रेस उपलब्ध गराएको छ । त्यस्तै प्रहरीका लागि १५ थान ज्याकेट उपलब्ध गराइएको रहतावल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यज्ञबहादुर बेल्वासेले बताए । 

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन केसीले प्रकृतिको संरक्षण नगरे देश जति धनी भए पनि अर्थ नहुने बताए । 

‘वनमा रुखमात्रै नभएर वातावरण, वन्यजन्तु, जडीबुटी, जीवजन्तु, पानी सबै हुन्छ,’ उनले भने, ‘अहिले सबै मासिएर जंगलमा राता बाँदर मात्रै देखिएका छन् ।’ वनमा लगाइने डढेलोका कारण जीवजन्तु, जडीबुटी सबै हराउँदै जानु अत्यन्तै चिन्ताको विषय भएको पनि उनले बताए । 

राष्ट्रिय वनलाई सामुदायिकमा जिम्मा लगाएपछि ४४ प्रतिशत पुगेको उनको दाबी थियो । नेपालको वन राजस्व र रोजगारीको प्रमुख केन्द्र बन्नुपर्ने पनि उनको भनाइ छ ।

लुम्बिनीका १२ जिल्लामा मात्रै राम्रोसँग व्यवस्थित रूपमा वनबाट राजस्व उठाउने हो भने २ अर्ब रुपैयाँ प्रदेश सरकारलाई उठ्ने उनको दाबी छ । 

कार्यक्रममा डिजिभन वन कार्यालय चन्द्रौटाका डिभिजन प्रमुख राजु क्षेत्री, सवडिभिजन कार्यालय खगेन्द्रपुरका वरिष्ठ वन अधिकृत पहलमान सेर्बुजामगरलगायत साझेदारी वनका प्रतिनिधि र उपभोक्ताको उपस्थिति रहेको थियो ।

अर्घाखाँचीसँग सीमा जोडिएका ७ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा साल, साज, करम र बैजाली लगायतका रुख रहेका छन् । पुराना र ढलेका रुख निकालेर काठ तथा दाउराको रूपमा बिक्री गर्ने र नयाँ विरुवा रोप्ने काम गर्दै आएको छ । काठदाउरा बिक्रीबाट गाउँमा विकास निर्माण सहित सामाजिक कार्य गरिँदै आएको वन समूहले जनाएको छ ।

मनोज पौडेल

Link copied successfully