पाल्पा — तानसेन र रामपुर नगरपालिकाले आ-आफ्नो नगरसभाबाट विभिन्न ऐन संशोधन तथा प्रतिवेदन पारित गरेका छन् । तानसेन नगरपालिकाको हिउँदे अधिवेशनले विनियोजन ऐन, २०८१ (संशोधन विधेयक) र न्यायिक समितिको प्रतिवेदन पारित गरेको हो ।
तानसेन नगर उपप्रमुख प्रतिक्षा सिंजालीले सभामा प्रस्तुत गरेका संशोधन विधेयक र न्यायिक समितिको प्रतिवेदन पारित भएको छ ।
संशोधन विधेयकमा आर्थिक वर्ष २०८१/०८२ को लागि नगर कार्यपालिका, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा र कार्यका निम्ति अनुसूची–१ मा उल्लेखित खर्च गर्न सकिने उल्लेख छ । जसमा चालु खर्च, पुँजीगत खर्च र वित्तिय व्यवस्थापनको रकम समेत गरी एक अर्ब ५३ करोड ६० लाख ७८ हजार ६ सय २४ रुपैयाँमा नबढाई सञ्चित कोषबाट खर्च गर्न सकिने निर्णय भएको सभाका अध्यक्ष एवं नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
न्यायिक समितिका संयोजक सिंजालीले ६ महिनाको अवधिमा न्यायिक समितिले गरेका काम, कर्तव्य र गतिविधि जानकारी गराइन् । सभा सदस्य माधव बस्यालले संशोधन विधेयक र न्यायिक समितिको प्रतिवेदन माथि सुझाव दिए । सभा सदस्य धन कुमारी विष्टले तानसेन–१० मा गणेशको मूर्ति बेवारिसे अवस्थामा राखिएको र मुर्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै, रामपुर नगरपालिकाको नगर सभाले विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित स्थानीय युवा परिषद् ऐन संशोधन गरेको छ । हिउँदे सभाले वडा तथा नगर स्तरीय ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शिर्षकान्तर गरेको रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताइन् ।
वडा स्तरीय र नगर स्तरी ४० वटा योजनाको दुई करोड एक लाख ६५ हजार बजेट ८६ वटा योजना तथा कार्यक्रममा शीर्षकान्तर गरिएको उनले बताइन् । सभामा नगर सभाका सदस्य तथा विद्येयक समितिका संयोजक मीनबहादुर सिंजालीले प्रस्तुत गरेको स्थानीय युवा परिषद् ऐन संशोधन प्रस्ताव पारित गरेको छ । जनताको चाहाना अनुसार स्रोत साधनले भ्याए सम्म विकास र सेवालाई प्राथमिकता दिदै आएको नगर प्रमुख रमण बहादुर थापाले बताए ।
सबै शीर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको उनले बताए । रामपुर नगरपालिका–३ का वडा अध्यक्ष दामोदर पाठकले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । रामपुर–१०, का वडाध्यक्ष तोयानाथ सारु थापाले विनियोजित बजेट कार्यान्वयनमा विभिन्न बाधा र अड्चन आउँदा समस्या भएको बताए ।
रामपु–८, का वडाध्यक्ष दिनेश आचार्यले विद्युत पोल व्यवस्थित गर्न तथा खानेपानी व्यवस्थापनका लागि ध्यान दिनु पर्ने बताए । नगरसभा सदस्य हरिनाथ ढुङ्गानाले कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
नगर सभाको अवसरमा राष्ट्रिय यू–१३ पुरुष फुटबलमा छनोट भएका विप्लप गुरुङलाई ५० हजार नगदसहित सम्मान गरिएको छ । पाल फुटबल संघ (एन्फा) ले छनोट गरेको खेलाडी मध्येमा पर्न सफल गुरुङलाई नगरपालिकाले ५० हजार रुपैयाँ रकम सहित सम्मान गरेको हो ।
उमेर हदका कारण निवृत्त भएका कर्मचारी ईन्द्र बहादुर अर्याललाई नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत दुई लाख ९९ हजार १६० रुपैयाँ ९८ पैसा सहित सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले बताए ।
