पाल्पा — प्रेस चौतारी नेपाल पाल्पा शाखाले आठ जना पत्रकारसहित, महासंघमा निर्वाचितलाई र जनप्रतिनिधिहरुलाई पुरस्कारसहित सम्मान गरेको छ ।
पुरस्कृत हुनेहरुमामा 'प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कार'बाट कृष्णप्रसाद पोखरेल, 'भद्रबहादुर स्मृति पत्रकारिता पुरस्कार'बाट नारायण न्यौपाने, 'तुलसा/तुलबहादुर स्मृति पत्रकारिता पुरस्कार'बाट भुवन रायमाझी पुरस्कृत भएका छन् ।
यस्तै 'सितादेवी स्मृति पर्यटन पत्रकारिता पुरस्कार'बाट विजय वौडेल, 'गीता स्मृति पत्रकारिता पुरस्कार'बाट दयाराज न्यौपाने, 'रेडियो पत्रकारिता पुरस्कार'बाट गुणवती केसी, 'शेष कुमारी/लोककुमारी पत्रकारिता पुरस्कार'बाट खेमराज पाण्डे र 'पुतली देवी/रुपनारायण स्मृति पत्रकारिता पुरस्कार'बाट शोभाकान्त पाठक पुरस्कृत भए ।
पुरस्कृत पत्रकारहरुलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, प्रेस चौतारीका लुम्बिनी प्रदेश इन्चार्ज प्रदीप आचार्य, प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, सम्बन्धित पुरस्कारदाताले नगद, प्रमाणपत्र प्रदान गरेका थिए ।
चौतारीलाई संस्थागत रुपमा सहयोग गरेकोमा तानसेन नगरपालिकाका पूर्वनगर प्रमुख अशोककुमार शाही, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा र रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीलाई सम्मान गरिएको छ । यसैगरी पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्य र प्रदेशमा प्रतिनिधित्व गर्नेहरुलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले विचार आआफ्नो भए पनि समाचार निष्पक्ष, वस्तुनिष्ट, सन्तुलित हुनुपर्ने भन्दै गलतलाई गलत भन्ने साहस हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगर, माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विक, राष्ट्रिय स्वतन्त्र पार्टीका दिलीप घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवार, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, लुम्बिनी संचार समन्वय परिषद्का अध्यक्ष यम गाहा मिलन, पत्रकार मेघराज शर्मालगायतको उपस्थिति थियो ।
