दाङ — बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि तुलसीपुरमा क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका मृतकका परिवार र यातायात व्यवसायीबीच सहमति भएको छ ।
बिमाअनुसार पाउने रकमका साथै मृतकका सन्तानलाई १२ कक्षासम्म पढाइदिने सहमति पछि बिहीबार रातिदेखि नै आन्दोलन फिर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।
तुलसीपुर बजारबाट बसपार्कतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले बुधबार ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–५ सम्झना टोलकी ३९ वर्षीया तिर्सना घर्तीको मृत्यु भएको थियो ।
मृतकका आफन्त र यातायात व्यवसायीबीच बिहीबार दिनभर भएको छलफल नमिलेपछि आक्रोशित आफन्तहरुले बिहीबार अपराह्नदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
