दाङ — बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै बिहीबार तुलसीपुर बजारमा सडक अवरुद्ध गरेका छन् ।
तुलसीपुर बजारबाट बसपार्कतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले बुधबार ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका–५ सम्झना टोलकी ३९ वर्षीया तिर्सना घर्तीको मृत्यु भएको थियो ।
मृतकका आफन्त र यातायात व्यवसायीबीच भएको छलफल नमिलेपछि आक्रोशित आफन्तहरूले बिहीबार अपराह्नदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । दुवै पक्षबीच छलफल गराई सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।
