दाङ — घोराहीमा बुधबार राति २४ किलो ७ सय १० ग्राम चरेससहित ३ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१३ सिर्जनशील टोलस्थित कुलबहादुर बस्नेतको घरमा कोठा भाडा लिई बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका-२ का ३९ वर्षीय निमबहादुर आले, नौबहिनी गाउँपालिका-२ का २१ वर्षीया देउकली बुढामगर र रोल्पाको त्रिवेणी गाउँपालिका-७ का २९ वर्षीय प्रकाश घर्तीमगर पक्राउ परेका हुन् ।
भान्साकोठामा प्लाष्टिकको ड्रमभित्र प्लाष्टिकका पोका बनाई राखेको अवस्थामा २४ किलो ७१० ग्राम तौल भएको लागूऔषध चरेस बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
