पाल्पा — पाल्पाको तिनाउ र बगनासकाली गाउँपालिकामा बुधबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–२, पासकुण्ड गाउँमा रुखमा घाँस काट्ने क्रममा लडेर ५५ वर्षीया रीमा सारुको मृत्यु भएको हो भने बगनासकाली गाउँपालिका–२, पोखराथोक ठूलीचौपारीस्थित नवकमल निर्माण सेवा प्रालिमा कार्यरत ३५ वर्षीय मायाराम थारु मृत अवस्थामा फेला परेका हुन् ।
सारु आफ्नै घरपछाडि खेतमा खनियाँको रुखमा घाँस काट्ने क्रममा अचानक रुखबाट लडेर मृत्यु भएको प्रहृरीले जनाएको छ । घरपरिवार र स्थानीयले खबर गरेपछि प्रहरीले घटनास्थलको अध्ययन गरी पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।
उता, बगनासकाली गाउँपालिका–२, पोखराथोक ठूलीचौपारीस्थित नवकमल निर्माण सेवा प्रालिमा कार्यरत ३५ वर्षीय मायाराम थारु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बर्दिया गेरुवा गाउँपालिका–२,उल्टनपुरका थारु आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।
