लुम्बिनी — उमेरले उनी ८१ वर्षकी पुगिन् । क्यान्सर रोगले थलिएको ११ वर्ष भयो । बिस्तराबाट उठेर आफ्नै काम पनि गर्न सक्दिनन् । त्यसैमाथि उनलाई ठूलो पीडा छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ बस्ने अमृता सुनारले उपचार गर्नका लागि बिक्री गरेको घरको पैसा नपाउँदा हारगुहार गरिरहेकी छन् । ‘२०७१ मा क्यान्सर देखिएपछि उपचार गर्न पैसा अभाव भयो,’ उनले भनिन्, ‘मैले २०७३ माघ २१ गते बुटवल–८ को कित्ता नं. ८२ को २०२ दशमलव २० वर्गमिटर घरसहितको जमिन १ करोड १८ लाखमा बिक्री गरें ।’
उनका अनुसार खरिदकर्ता बुटवल–११ देवीनगर बस्ने जानकी बराह दर्जीले ३४ लाख रुपैयाँ दिई अमृतालाई केही समयपश्चात् अन्य रकम दिने विश्वास दिलाई आफ्नो नाममा पास गराएकी थिइन् । तर ७ वर्ष नाघिसक्दा समेत पैसा दिन आलटाल गरेपछि अमृताले गुहार मागेकी हुन् ।
छिमेकीले वातावरण बनाइदिएर घर बिक्री गरेकी अमृताले न उपचारका लागि पैसा पाइन्, न त बास नै रह्यो । उनलाई जानकीले घरबाट समेत निकालिदिएर अमृता छोरासँग बस्दै आएकी छन् । ‘४ छोरामध्ये १ मानसिक समस्याले पीडित छ, आफ्नो नामको घर बेचें, छोरालाई दुःख दिन थलिएर बसेकी छु,’ उनले भनिन् ।
उनले यतिका वर्षसम्म पैसा पाउने आशले नबोले पनि अति भएपछि कुरा बाहिर ल्याएको पनि बताइन् । पाउनुपर्ने बाँकी ८४ लाख रुपैयाँ नदिई जानकीले उनलाई कहिले कताको, कहिले कताको जमिन दिने भन्दै प्रलोभनमा पार्दै आएको पनि उनले गुनासो गरिन् । तर उनले जग्गा दिन पनि आलटाल गरेर दुःख दिइरहेको अमृताको गुनासो छ ।
‘मैले साह्रै गाह्रो भएपछि वडा कार्यालयमा निवेदन दिएँ, त्यहाँ छलफल हुँदा नियतवश मलाई ठग्न खोजेकी रहिछन्, वडामा भएको सहमति पनि कार्यान्वयन भएन,’ अमृताले भनिन् । उनीहरूको यो कारोबारमा जानकीका भाइ विक्रम बराहसमेत संलग्न रहेका छन् ।
जानकीले अमृता र उनको परिवारलाई आफू कानुनी रूपमा बलियो भएको भन्दै धम्क्याउने गरेको अमृताले बताइन् । ‘पटक–पटक फोनमा, छलफलमा बोलाई कुरा भयो, पैसा मागियो, तर दिन्छु आमा भनेर दिने नाम छैन,’ उनले भनिन्, ‘म सोझी भएँ, पूरा पैसा नबुझी पास गरिदिएँ, कागजी रूपमा कमजोर भए पनि मेरो सम्पत्ति गयो, पाउनुपर्ने पैसा मैले पाइनँ ।’
अमृताले २०७९ सालदेखि वडा कार्यालय, बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा पुगेर छलफल गराइदिन, पैसा पाउने वातावरण मिलाइदिन निवेदन पेस गरेकी थिइन् । उनको निवेदनअनुसार वडा कार्यालयबाट वडाध्यक्षले नै छलफलमा बोलाई रकम दिने गरी निर्णय गराएका थिए ।
अमृताको रकम दिने विषयमा जानकी त्यति सकारात्मक नदेखिएकाले अन्य समयमा समेत बोलाएको तर उनी कतिपटक सम्पर्कमा नआएको वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले बताए ।‘हामीले कति पहल गर्दा पनि रकम दिलाउने अवस्थामा पुग्न सकिएन, यस्तो वृद्धालाई पीडा दिएकी छन्, पैसा दिने छाँट छैन,’ उनले भने । अमृताको स्वास्थ्य अवस्थाले गर्दा आफू र वडा सदस्यहरूले पहल गरेको भए पनि सफल हुन नसकेको उनले बताए ।
अमृताका श्रीमान्ले १५ वर्षअघि आफ्नो कमाइबाट उक्त घर बनाएका थिए । ८ वर्षअघि उनको प्यारालाइसिस भएर निधन भइसकेको छ । त्यसपछि अमृता र मानसिक रूपमा समस्या भएका उनका साहिंला छोरा उक्त घरमा बस्दै आएका थिए । अन्य छोरा कमाउन गएको र आफ्नो परिवारसँग बस्दै आएको अमृताले बताइन् ।
अधिवक्ता महेन्द्र पाण्डेले तमसुक गरी बाँकी रकम पछि दिने सम्झौता भएमा त्यही कागजका आधारमा दाबी गर्न मिल्ने बताए । यस विषयबारे कुराकानी गर्न प्रयास गरे पनि जानकीले भने फोन उठाएकी छैनन् ।
