पाल्पा — रामपुर नगरपालिका–७, किसानबारीस्थित सहिद बहुमुखी क्याम्पसमा छात्रावास बनाउन आयोजित महायज्ञमा साढे ४ करोड रुपैयाँ दान संकलन भएको छ । गत पुस १६ गतेदेखि सुरु भएको महायज्ञमा चार करोड ३९ लाख ६४ हजार ४२४ रुपैयाँ ३० पैसा बढी दान संकलन भएको आयोजकले जनाए । दानपात्र र १ हजार मुरी धानको मूल्य निर्धारण भएको छैन ।
महायज्ञबाट भएको आम्दानीले क्याम्पसमा संकाय थप, सीपमूलक शिक्षा र छात्रावासको स्थापना गर्ने योजना क्याम्पस संचालक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले बताए । उनका अनुसार कालीगण्डकी उपत्यकामा शैक्षिक, धार्मिक, सांस्कृतिक पर्यापर्यटनको आधार तयार गर्ने योजना अघि बढेको छ ।
साथै सहिद बहुमुखी क्याम्पसलाई आर्थिक भौतिक एवं शैक्षिक गुणस्तरमा सबल बनाउने योजनासहित महायज्ञ गरिएको हो । उच्चतहमा प्राविधिक शिक्षाको पूर्वाधार तयार गर्ने, अध्ययनरत विद्यार्थी र युवापुस्तामा संस्कारयुक्त, कर्मशील, अध्ययनशील, राष्ट्रप्रेमी भावना जागृत गराउने योजना रहेको क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले बताए ।
धनधान्याञ्चल श्रीमद् भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवको अन्तिम दिन मंगलबारसम्ममा जग्गा तथा नगदसहितको दान संकलन भएको छ । रामपुर नगरपालिका–७, निवासी तेजकुमारी उपाध्यायले एक करोड बराबरको जग्गा दान गर्ने घोषणा गरेको आर्थिक संकलन समितिका संयोजक सुकदेव पोखरेलले बताए । ‘यज्ञस्थलमा रहेको दानपेटीकाहरुको रकम गणना गर्न र अन्य केही दान रकमहरु समेत जोड्न बाँकी छ,’ उनले भने । यज्ञको पहिलो दिन जग्गा सहित १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ, दोस्रो दिन ४ लाख ७६ हजार ७९१ रुपैयाँ २२ पैसा र तेस्रो दिन ३१ लाख ९८ हजार १३५ रुपैयाँ ५५ पैसा दान संकलन भएको थियो । सोही दिन लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले २० लाख रुपैयाँ घोषणा गरेका थिए ।
चौथो दिन ३२ लाख ४८ हजार रुपैयाँ दान संकलन भएको थियो । पाँचौ दिन ६३ लाख ५ हजार ५१९ संकलन भएको थियो । छैठौं दिन ८३ लाख ५ हजार ३०६ रुपैयाँ ५३ पैसा दान संकलन भएको आयोजक समितिले जनाएको छ । यज्ञमा धान दानमा पनि भक्तजनहरूको उत्साह छ । ९६ वटा धान संकलन केन्द्रबाट एक हजार ३२ मुरी धान संकलन भएको धान दान संकलन समितिका ऋषिराम रेग्मीले जानकारी दिए । महायज्ञ समापनमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले छोरी, बुहारीले पढ्ने क्याम्पसका लागि निर्माण हुने छात्रावासका लागि सबैको सहयोग रहेको बताए । यो क्याम्पस रामपुर नगरको मात्रै नभई कालीगण्डकी वेशीको गहना भएको उनले बताए ।
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले विकासको मुख्य आधार शिक्षा रहेकाले क्याम्पसको उत्थानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सहिद क्याम्पस गण्डकीबेंसी क्षेत्रको शैक्षिक धरोहर रहेको बताए ।
